काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ लाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष मनोनीत गरेको विषयमा व्यापक आलोचना भएको छ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई नयाँ सरकार बन्ने तयारी भइरहेका बेला अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीले आइतबार आफ्ना स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ लाई कोषको अध्यक्षमा मनोनीत गरेकी हुन्।

advertisement

पूर्वमन्त्री ऐनबहादुर शाहीले अध्यक्ष पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।

प्रधानमन्त्री कार्कीको उक्त निर्णयप्रति पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ, आविष्कारक तथा सामाजिक अभियन्ता महावीर पुन, जेनजी अभियन्ता रक्षा बम र तनुजा पाण्डेलगायतले आलोचना गरेका छन्।

सुमना श्रेष्ठले सामाजिक सञ्जाल एक्समा टिप्पणी गर्दै प्रधानमन्त्री कार्कीको निर्णयप्रति आपत्ति जनाएकी छन्। अरूले गर्दा नातावाद र कृपावाद भनिने काम आफूहरूले गर्दा योगदानको कदर ठानिने प्रवृत्ति देखिएको भन्दै उनले व्यंग्यसमेत गरेकी छन्।

त्यस्तै, म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित महावीर पुनले पनि उक्त नियुक्ति गलत भएको बताएका छन्। उनले यस्तो निर्णयले प्रधानमन्त्रीको प्रतिष्ठा धुलोमा मिसिने टिप्पणी गर्दै श्रेष्ठलाई सो पद नलिन आग्रह गरेका छन्।

जेनजी प्रतिनिधि रक्षा बमले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आन्दोलनकारीहरूले सुशासनको आशामा संघर्ष गरेको स्मरण गराएकी छन्। प्रधानमन्त्री र मन्त्रीहरूले आफ्ना मान्छेलाई परिषद्, विभाग वा समितिका पद बाँडफाँट गर्नका लागि आन्दोलन नभएको उनको भनाइ छ।

त्यस्तै, जेनजी प्रतिनिधि तनुजा पाण्डेले पनि प्रधानमन्त्रीको निर्णयले सहिदहरूको बलिदानको मजाक बनाएको टिप्पणी गरेकी छन्। उनले आसेपासेवादबाट माथि उठ्ने कुरा गर्नेहरूमै यस्ता घटना दोहोरिनु विडम्बनापूर्ण भएको बताएकी छन्।

यसअघि पनि आदर्शकुमार श्रेष्ठले आफ्नी पत्नी संगीता श्रेष्ठलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गर्न खोजेको विषय विवादमा परेको थियो। विवादपछि प्रधानमन्त्री कार्कीले संगीतालाई सचिवालयबाट हटाएकी थिइन्।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com