एजेन्सी । डोनाल्ड ट्रम्पले चीन लाई स्ट्रेट अफ हर्मुज पुनः सञ्चालनमा ल्याउन सहयोग नगरे आफ्नो चीन भ्रमण स्थगित गर्न सक्ने चेतावनी दिएका छन्।
संयुक्त राज्य अमेरिका र इजरायल ले फेब्रुअरी २८ मा इरान माथि आक्रमण गरेपछि इरानले आफ्नो आसपासको महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुज बन्द गरेको थियो।
यो साँघुरो समुद्री मार्ग विश्व ऊर्जा आपूर्तिको प्रमुख नाका मानिन्छ। यही मार्ग हुँदै विश्वको करिब २५ प्रतिशत कच्चा तेल र करिब २० प्रतिशत प्राकृतिक ग्यासको आपूर्ति हुने गर्दछ।
जलमार्ग बन्द भएपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति घटेको छ र मूल्य तीव्र रूपमा बढेको छ। यसको असर विश्व अर्थतन्त्रमा समेत देखिन थालेको विश्लेषकहरूले बताएका छन्।
यसै सन्दर्भमा ट्रम्पले हर्मुज जलडमरु पुनः खुलाउन सक्रिय कूटनीतिक पहल गरिरहेका छन्। विश्व ऊर्जा आपूर्ति अवरुद्ध हुन नदिन आवश्यक परे युद्धपोतमार्फत जहाजहरूलाई ‘स्कर्टिङ’ गर्दै सुरक्षित आवागमन गराउने योजना समेत अमेरिकाले अघि सारेको छ।
शनिबार ट्रम्पले चीनसहित बेलायत लगायत केही राष्ट्रलाई पनि जलमार्ग सुरक्षाका लागि युद्धपोत पठाउन आग्रह गरेका थिए। तर चीनले त्यसमा प्रत्यक्ष सैन्य सहभागिता जनाउने सम्भावना कम देखिएको छ।
यही कारण चीनमाथि दबाब बढाउन ट्रम्पले आफ्नो चीन भ्रमण पछि सार्न सक्ने संकेत दिएका हुन्। सी जिनपिङ सँग हुने शिखर भेटवार्ताअघि ऊर्जा आपूर्तिसम्बन्धी समस्या समाधान भएको देख्न चाहेको ट्रम्पले फाइनान्सियल टाइम्स लाई दिएको अन्तर्वार्तामा बताएका छन्।
‘चीनले पनि यसमा सहयोग गर्नुपर्छ, किनकि चीनले आफ्नो झन्डै ९० प्रतिशत तेल यही जलमार्गबाट प्राप्त गर्छ,’ ट्रम्पले भनेका छन्।
शिखर सम्मेलनअघि नै चीनको भूमिकाबारे स्पष्ट हुन चाहेको भन्दै उनले आवश्यक परे भेटवार्ता पछि सार्न सकिने संकेत दिएका छन्। तर भ्रमण कति समयका लागि स्थगित हुन सक्छ भन्नेबारे उनले खुलाएका छैनन्।
ट्रम्प मार्चको अन्त्यतिर चीन पुगेर केही महिना अघि भएको अमेरिका–चीन व्यापार सहमतिलाई अन्तिम रूप दिने योजनामा छन्। यसका साथै ताइवान सम्बन्धी विषयमा पनि दुवै नेताबीच छलफल हुने अपेक्षा गरिएको छ।
विश्लेषकहरूका अनुसार ट्रम्पको भ्रमण प्रभावित हुने आशंकाले चीनले इरानमाथि भएको आक्रमणबारे अपेक्षाकृत नरम प्रतिक्रिया दिएको हुन सक्छ। यही अवस्थालाई ध्यानमा राख्दै ट्रम्पले हर्मुज जलडमरु खुलाउन चीनमाथि दबाब बढाउने रणनीति अपनाएको बताइएको छ।
प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार













प्रतिक्रिया