काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।

मंगलबार ललितपुरस्थित एक पाँचतारे होटलमा आयोजित कार्यक्रममा उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

advertisement

रास्वपा अभिमुखीकरण कार्यक्रम को पहिलो दिन भने पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहभागी भएनन्।

 

यो पनि:

मन्त्री चयनमा रवि-बालेनको आ-आफ्नै दाउ

 

 

पार्टीका अनुसार दुवै नेता बुधबार हुने समापन कार्यक्रममा सहभागी हुनेछन्।

महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सभापति लामिछाने अस्वस्थ रहेकाले पहिलो दिन उपस्थित हुन सकेनन् भने बालेन शाह नयाँ सरकार गठनसम्बन्धी तयारीमा व्यस्त रहेका कारण अनुपस्थित भएका हुन्। ‘बुधबार दुवै नेता कार्यक्रममा सहभागी हुने तय भएको छ,’ उनले जानकारी दिए।

उद्घाटन कार्यक्रममा उपसभापति अर्यालले पनि सम्भव भएसम्म दुवै नेता समापन सत्रमा सहभागी हुने उल्लेख गरे। यद्यपि पार्टीले सार्वजनिक गरेको कार्यक्रम तालिकामा लामिछानेको सहभागिता उल्लेख भए पनि शाहबारे औपचारिक जानकारी दिइएको छैन।

अभिमुखीकरण कार्यक्रममा संसदीय अभ्यास, पार्टीको रणनीति, दृष्टिकोण तथा नीतिगत प्राथमिकताबारे नेता र विज्ञहरूले प्रशिक्षण दिनेछन्। साथै, नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्दै उनीहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउन सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ।

पार्टी प्रवक्ता मनिष झाले कार्यक्रमले नयाँ सांसदहरूलाई संसदीय कार्यसम्पादनमा सक्षम बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com