काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्नो निर्देशनमा अवैध उत्खनन रोकिएको दाबी गरेकी छन्।
मंगलबारदेखि सुरु भएको रास्वपाका सांसदहरूको प्रशिक्षण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद तामाङले भनिन्, ‘अवैध रूपमा भइरहेको उत्खनन रोक्न मैले नै निर्देशन दिएँ, र हिजोबाट उक्त कार्य बन्द गरिएको छ।’
सांसद तामाङका अनुसार धादिङको बेनीघाट रोराङ-९ क्षेत्रमा अवैध रूपमा बालुवा र गिट्टी उत्खनन् भइरहेको जानकारी पाएपछि उनले तुरुन्तै रोक्न आदेश दिएकी थिइन्। उनले चेतावनी दिँदै भनिन्, ‘म जनताले पठाएकी माननीय हुँ। मेरो आदेश नमान्ने सम्बन्धित निकायलाई कारबाहीको दायरामा ल्याइनेछ।’
सांसद आशिका तामाङले संसद्मा आफ्नो प्रमुख प्राथमिकता देशमा सुशासन स्थापना र भ्रष्टाचार अन्त्य गर्नु रहेको स्पष्ट पारेकी छन्। सञ्चारकर्मीले सांसद बनेपछि आफ्नो ‘एक्सन’ शैली हराएको हो कि भन्ने प्रश्नमा उनले जवाफ दिँदै भनिन्, ‘म पहिले पनि एक्सनमै थिएँ र अहिले पनि छु। जनताले पठाएपछि माननीय भएँ, अब काम जनताको इच्छाअनुसार नै हुन्छ।’
आशिका तामाङले आगामी दिनमा देशभर सुशासन कायम गर्न र भ्रष्टाचारको अन्त्य गर्न निरन्तर काम गर्ने बताइन् र यसका परिणाम क्रमशः देखिन थाल्ने अपेक्षा व्यक्त गरिन्।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार












प्रतिक्रिया