काठमाडौं । पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा विभिन्न पेय पदार्थको बिक्री तीव्र रूपमा बढ्दो छ। आकर्षक प्याकेजिङ, लोभलाग्दो विज्ञापन र मिठो स्वादका कारण विशेषगरी युवा तथा बालबालिकाहरुले अत्याधिक रुपमा यसको प्रयोग गर्दै आएका छन्। तर, यी पेय पदार्थले स्वास्थ्यमा पार्ने असरबारे उपभोक्ता अझै पर्याप्त सचेत देखिँदैनन्।
यहीबीच बजारमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’ नामक नयाँ पेय पदार्थ भित्रीएको छ। आकर्षक विज्ञापन र आक्रामक प्रचारका कारण छोटो समयमै यसको विक्रीदर उल्लेख्य रूपमा बढेको छ। तर, चिकित्सकहरूले भने यसको नियमित सेवनले गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतावनी दिएका छन्।
यस्ता पेय पदार्थले मधुमेह, पेट र पाचनमा समस्या, मुटु रोग, किड्नीमा समस्या र हड्डी कमजोर बनाउने जस्ता स्वास्थ सम्बन्धी गम्भीर समस्या निम्त्याउँछ।
के मिसाइन्छ ‘एक्सट्रिम’मा?
एक्सट्रिम इनर्जी ड्रिंकमा कार्बोनेटेड पानी, ग्लुकोज–फ्रुक्टोज सिरप, एसिडिटी रेगुलेटर (E331, E330) जस्ता तत्वहरु मिसाइएको पाइन्छ। तीमध्ये ग्लुकोज–फ्रुक्टोज सिरपको अत्यधिक सेवनले मधुमेहको जोखिम बढाउने स्वास्थ विज्ञहरू बताउँछन्।
यसका साथै, E150D र E104 जस्ता कृत्रिम रङहरूको प्रयोग पनि गरिएको छ। विशेषगरी E104 रङलाई सेवन गर्दा दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्ने र बालबालिकामा अत्यधिक चञ्चलता बढाउने खतरा रहेको चिकित्सकहरू बताउँछन्। यही कारणले कतिपय देशहरूले यस्तो रङको प्रयोगमा कडाइसमेत गरेका छन्।
त्यसैगरी, उक्त पेयपदार्थमा क्याफिन, टाउरिन, विभिन्न फ्लेवर र प्रिजरभेटिभ्स जस्ता कृत्रिम तत्वहरू पनि मिसाइएको पाइन्छ, जसले शरीरमा तत्काल ‘ऊर्जा’ दिने जस्तो महसुस गराए पनि स्वास्थमा दीर्घकालीन रुपमा नकारात्मक असर पुर्याउने स्वास्थ क्षेत्रका जानकारहरु बताउँछन्।
१८ वर्ष मुनिकालाई बढी जोखिम
चिकित्सकहरुका अनुसार, यस्ता इनर्जी ड्रिंक्समा रहेका केमिकलहरूले मस्तिष्कमा प्रत्यक्ष असर पार्छन्। क्याफिन र टाउरिनजस्ता तत्वले ‘स्टिमुलेन्ट’को रूपमा काम गर्दै मस्तिष्कलाई अत्यधिक उत्तेजित बनाउँछन्।
विशेषगरी बालबालिका र किशोरावस्थाको मस्तिष्कमा यसको असर अझै गम्भीर हुने स्वास्थ बिज्ञहरु बताउँछन्। यस्ता इनर्जी ड्रिंकको नियमित सेवनले बालबालिका र किशोरकिशोरीहरुमा अझ बढी जोखिम हुने र उनीहरुमा विभिन्न शारीरिक र मानसिक समस्या देखिनसक्ने चिकित्सकहरुको चेतावनी छ ।
यस्ता इनर्जी ड्रीङ्क्सले एन्जाइटि, चिडचिडापन, अत्यधिक उत्तेजना र आक्रामक व्यवहार, निद्रा नलाग्ने समस्या, ध्यान केन्द्रित गर्न नसक्ने अवस्था, हातखुट्टा काँप्ने र टाउको दुख्ने जस्ता विभिन्न स्वास्थ समस्या निम्त्याउँछन्।
यसकासाथै, मानिसको मुटुको चालमा समेत असर पार्नुका साथै नियमित प्रयोगले ‘एडिक्सन’ अर्थात् लत बस्ने खतरा पनि उत्तिकै रहेको स्वास्थ क्षेत्रका जानकारहरु बताउँछन्।
क्षणिक ऊर्जा र आकर्षक स्वादका लागि प्रयोग गरिने यस्ता इनर्जी ड्रिंक्स, विशेषगरी ‘एक्सट्रिम’जस्ता कृत्रिम पेयपदार्थहरु मानव स्वास्थ जोखिमको कारक बन्न सक्ने देखिएको छ। त्यसैले यस्ता पेय पदार्थको प्रयोगमा विशेष सावधानी अपनाउन र बालबालिकालाई सकेसम्म टाढा राख्न चिकित्सकहरूले सुझाव दिएका छन्।
प्रकाशित मिति: ३ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया