काठमाडौं । करिब दुईतिहाइ नजिकको बहुमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यतिबेला नयाँ मन्त्रिमण्डल गठनको तयारीमा जुटेको छ। मन्त्रालयगत जिम्मेवारीका लागि सम्भावित उम्मेदवारहरूको सूची तयार पारेर आन्तरिक छलफल भइरहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार अर्थ मन्त्रालयका लागि हालसम्म डा. स्वर्णिम वाग्लेको नाम प्रमुख रूपमा अगाडि आएको छ। उनको अनुभव र योग्यताका कारण अन्य नेताहरूले यस मन्त्रालयमा दाबी नगरेको बताइन्छ।
यसअघि वाग्लेलाई सन्तुलनमा राख्न वर्तमान अर्थमन्त्री रामेश्वर खनाललाई राष्ट्रिय सभामा लैजाने चर्चा चलेको थियो। तर, सरकारले राष्ट्रिय सभाको रिक्त विज्ञ सदस्य पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ।
गृह मन्त्रालयका लागि भने पार्टीभित्र प्रतिस्पर्धा देखिएको छ। उपसभापति डीपी अर्याल र नेता सुनिल लम्साल दुवैले उक्त मन्त्रालयमा दाबी गरेका छन्।
लम्साललाई बालेन पक्षको समर्थन रहेको छ। रुपन्देही–१ बाट निर्वाचित उनी यसअघि बालेन समूहबाट महामन्त्रीका सम्भावित उम्मेदवारका रूपमा पनि चर्चामा थिए। पार्टीभित्र शक्ति सन्तुलन कायम गर्न बालेन पक्षले लम्साललाई गृहमन्त्री बनाउन चाहेको बताइन्छ।
तर, डीपी अर्याल भने गृहमन्त्री बाहेक अन्य पद नलिने अडानमा रहेका छन्। पार्टीले उनलाई सभामुखका रूपमा अघि सार्ने तयारी गरे पनि उनले त्यसमा रुचि नदेखाएको स्रोतले जनाएको छ।
गृहमन्त्री बन्न नसकेको अवस्थामा अर्याललाई भौतिक पूर्वाधार मन्त्रालयमा जिम्मेवारी दिने विकल्पसमेत छलफलमा रहेको बुझिएको छ।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार













प्रतिक्रिया