एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी द्वन्द्वबीच स्ट्रेट अफ हर्मुजको सुरक्षामा नेटोका सदस्य राष्ट्रहरूले सहयोग नगरेकोमा कडा आलोचना गरेका छन्। उनले यो निर्णयलाई “मूर्खतापूर्ण गल्ती” भन्दै नकारात्मक टिप्पणी गरेका छन्।
ह्वाइट हाउसमा आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनसँगको भेटका क्रममा ट्रम्पले अधिकांश युरोपेली नेटो देशहरूले इरानसँगको द्वन्द्वमा प्रत्यक्ष संलग्न हुन अस्वीकार गरेको बताए। उनका अनुसार धेरै राष्ट्रहरूले यस युद्धलाई अवैध ठानेर आफूलाई सरोकारविहीन राखेका छन्।
स्ट्रेट अफ हर्मुज विश्वभरको तेल आपूर्तिको महत्वपूर्ण मार्ग हो। हाल इरानमा जारी द्वन्द्वका कारण यो मार्ग प्रभावित बनेको छ। ट्रम्पले केही देशहरूले जहाजको सुरक्षा गर्न तयार रहेको भए पनि नाम सार्वजनिक नगरेको उल्लेख गरे।
ओभल अफिसमा बोल्दै ट्रम्पले भने, ‘हामीलाई सहयोग आवश्यक छैन, अमेरिका आत्मनिर्भर छ। तर, संवेदनशील समयमा नेटोका साथीहरूले साथ दिनु पर्थ्यो।’ उनले बेलायतलाई पनि आलोचना गर्दै अमेरिकी–इजरायली आक्रमणमा सहयोग नगरेको र यसले अमेरिका प्रति अन्याय भएको टिप्पणी गरे।
ट्रम्पले इरानसँगको युद्धलाई अमेरिका र नेटोबीचको सम्बन्धको ठूलो परीक्षा भएको बताए। तर उनले हाल यस विषयमा कुनै प्रतिशोधात्मक कदम चाल्ने योजना नरहेको पनि स्पष्ट पारे।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार












प्रतिक्रिया