एजेन्सी । मध्यपूर्वमा चुलिँदै गएको द्वन्द्वको प्रभाव इराकसम्म फैलिन थालेको संकेतस्वरूप कुर्दिस्तान क्षेत्रको राजधानी इरबिलमा बुधबार कम्तीमा चारवटा विस्फोटका आवाज सुनिएका छन्। यस घटनाले क्षेत्रीय सुरक्षाप्रति थप चिन्ता उत्पन्न गरेको छ।
एएफपीका पत्रकारहरूका अनुसार सहरका विभिन्न स्थानबाट विस्फोटको आवाज सुनिए पनि आक्रमणको लक्ष्य के थियो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन। इरबिलको उपनगरबाट हेर्दा आकाशमा प्रक्षेप्यहरू अवरोध गरिँदै गरेको दृश्य देखिएको बताइएको छ। सो क्षेत्रमा अमेरिकी वाणिज्य दूतावास रहेको छ भने विमानस्थलमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनका सैनिकहरू तैनाथ छन्।
इराक लामो समयदेखि अमेरिका र इरानबीचको अप्रत्यक्ष द्वन्द्वको केन्द्र रहँदै आएको छ। हालको मध्यपूर्वीय तनावले यसलाई झनै संवेदनशील बनाएको देखिन्छ। पछिल्ला आक्रमणहरू इरान समर्थित समूहलाई लक्षित गर्दै गरिएको जनाइएको छ, जसले इराकसहित क्षेत्रभर अमेरिकी हितविरुद्ध निरन्तर आक्रमण गर्दै आएको दाबी गर्दै आएका छन्।
द्वन्द्व चर्किएसँगै इरबिलमा सुरक्षा सतर्कता कडा पारिएको छ। गठबन्धनको हवाई प्रतिरक्षा प्रणालीले पटक–पटक ड्रोन खसालिरहेको जानकारी पनि सार्वजनिक भएको छ। पछिल्ला दिनहरूमा सहरमा प्रायः दैनिकजसो विस्फोटका आवाज सुनिन थालेका छन्, विशेषगरी साँझपख यस्ता घटनाहरू हुने गरेका छन्।
यसैबीच, मंगलबार राति इरान समर्थित शक्तिशाली सशस्त्र समूह कातेब हिजबुल्लाहले इराकमा रहेको अमेरिकी सैन्य उपस्थितिको कडा विरोध गर्दै सबै विदेशी सैनिकलाई तत्काल देश छाड्न चेतावनी दिएको थियो। अमेरिकी प्रशासनले उक्त समूहलाई आतङ्कवादी सङ्गठनको सूचीमा राखेको छ। ‘इस्लामिक प्रतिरोध’ नामक छाता सङ्गठनअन्तर्गत सक्रिय यस समूहले इराक र आसपासका क्षेत्रमा अमेरिकी हितविरुद्ध निरन्तर आक्रमणको दाबी गर्दै आएको छ।
प्रकाशित मिति: ४ चैत्र २०८२, बुधबार












प्रतिक्रिया