काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजय बेहोरेपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका हुन्।
यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट चुनाव लडेका थिए। उक्त क्षेत्रमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका डा अमरेशकुमार सिंह ले पराजित गरेका हुन्।
निर्वाचन परिणामअनुसार रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दै पहिलो स्थान हासिल गर्दा नेपाली कांग्रेस दोस्रो स्थानमा सीमित रह्यो। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिट मात्र प्राप्त गरेको छ।
चुनावी नतिजा सार्वजनिक भएसँगै थापा राजीनामाको तयारीमा रहेका थिए। यद्यपि पार्टीभित्रका विभिन्न तहका नेताहरूले उनलाई राजीनामा नदिन आग्रह तथा दबाब दिँदै आएका थिए।
थापा निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए। उनको राजीनामाबारे अन्तिम निर्णय भने पार्टीको आगामी बैठकले गर्नेछ। केन्द्रीय कार्यसमिति बैठक शुक्रबारका लागि बोलाइएको छ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया