काठमाडौं। मध्यपूर्वमा बढ्दो द्वन्द्वका बीच ग्यास पूर्वाधारमा भएका आक्रमणहरूले विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर पर्ने संकेत देखिएको छ।
इरानको दक्षिण पार्स ग्यास क्षेत्रमा आक्रमण भएपछि इरानले कतारको रास लाफान औद्योगिक क्षेत्रमा प्रहार गरेको बताइएको छ।
उक्त ग्यास पूर्वाधारमा आक्रमण ले कतारको प्रमुख ग्यास प्लान्टमा क्षति पुर्याएको र केही समय आगलागीसमेत भएको जनाइएको छ।
कतारको सरकारी स्वामित्वको पेट्रोलियम कम्पनीले जारी गरेको वक्तव्यमा मिसाइल आक्रमणका कारण ग्यास उत्पादन प्रणालीमा असर परेको उल्लेख छ।
घटनापछि आपतकालीन टोलीले आगो नियन्त्रणमा लिएको र मानवीय क्षति नभएको बताइएको छ।
यस घटनापछि कतारले दुई इरानी कूटनीतिज्ञलाई निष्कासन गरेको छ भने इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमा थप आक्रमण हुन सक्ने चेतावनी दिएको छ।
इरानसँग सम्बद्ध सैन्य पक्षले ऊर्जा संरचनामाथि आक्रमण दोहोरिए कडा जवाफ दिने चेतावनी दिएको छ।
यता, इजरायलले दक्षिण पार्स आक्रमणबारे औपचारिक प्रतिक्रिया दिएको छैन भने अमेरिकी पक्षले सो आक्रमणमा आफ्नो संलग्नता नभएको स्पष्ट पारेको छ।
साउदी अरेबियाले पनि आफ्नो क्षेत्रमा ऊर्जा पूर्वाधार लक्षित ड्रोन आक्रमण विफल बनाएको जनाएको छ।
यसैबीच, हर्मुज जलडमरू हुँदै हुने तेल ढुवानीमा असर पर्ने आशंकाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पुनः वृद्धि भएको छ।
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै मध्यपूर्वको अवस्था थप जटिल बन्न सक्ने चेतावनी दिएका छन्।
उनले कतारमाथिको आक्रमणलाई अनावश्यक भन्दै थप आक्रमण भए कडा प्रतिक्रिया जनाइने उल्लेख गरेका छन्।
यता, इरानी राष्ट्रपति मसूद पेजेश्कियानले ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणको निन्दा गर्दै यसले नियन्त्रणबाहिरका परिणाम निम्त्याउन सक्ने बताएका छन्।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पनि ऊर्जा तथा नागरिक, ग्यास पूर्वाधारमा आक्रमण तत्काल रोक्न आह्वान गरेका छन्।
विश्लेषकहरूका अनुसार विश्वकै ठूलो ग्यास क्षेत्र मानिने दक्षिण पार्समा भएको आक्रमण र त्यसपछिका प्रतिक्रियाले विश्व ऊर्जा बजारमा अस्थिरता बढाउने खतरा देखिएको छ।
खाडी क्षेत्रको अस्थिरताले तेल तथा ग्यास आपूर्तिमा दीर्घकालीन प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
प्रकाशित मिति: ५ चैत्र २०८२, बिहिबार













प्रतिक्रिया