काठमाडौं। इरानविरुद्ध सञ्चालन भइरहेको सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाको एक एफ–३५ स्टेल्थ लडाकू विमानले मध्यपूर्वस्थित एक सैन्य अड्डामा आकस्मिक अवतरण गरेको छ।

अमेरिकी सञ्चारमाध्यम सीएनएन का अनुसार उक्त विमानमाथि इरानी आक्रमण भएको आशंकापछि आपतकालीन अवतरण गराइएको हो।

advertisement

अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) का प्रवक्ता क्याप्टेन टिम हकिन्सले अभियानका क्रममा उडिरहेको विमान आकस्मिक रूपमा अवतरण गर्न बाध्य भएको जानकारी दिएका छन्। उनका अनुसार विमान सुरक्षित रूपमा अवतरण भएको छ र चालकको अवस्था स्थिर रहेको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

गत फेब्रुअरी महिनाको अन्त्यदेखि सुरु भएको द्वन्द्वयता इरानले अमेरिकी लडाकू विमानलाई लक्षित गरेको यो पहिलो घटना हुन सक्ने अनुमान गरिएको छ। उक्त युद्धमा अमेरिका र इसराइल दुवैले एफ–३५ जेट प्रयोग गरिरहेका छन्।

एफ–३५ विश्वकै अत्याधुनिक ३५ स्टेल्थ लडाकू विमानमध्ये एक हो। यसमा उच्चस्तरीय संवेदक (सेन्सर) तथा हतियार प्रणाली जडान गरिएको हुन्छ। रडारबाट सजिलै पत्ता नलाग्ने यसको विशेषताका कारण यसले शत्रु क्षेत्रमा गोप्य रूपमा प्रवेश गर्न सक्छ। यसको मूल्य १० करोड अमेरिकी डलरभन्दा बढी पर्ने बताइएको छ।

यसअघि पनि युद्धका क्रममा अमेरिकाले केही विमान गुमाइसकेको छ। युद्धको प्रारम्भिक चरणमै कुवेतमा अमेरिकी सेनाका तीन वटा एफ–१५ लडाकू विमान दुर्घटनाग्रस्त भएका थिए। ती विमान कुवेती हवाई प्रतिरक्षा प्रणालीबाट भूलवश खसालिएको बताइएको थियो। चालक दलका सदस्यहरू भने प्यारासुटको सहायताले सुरक्षित रूपमा बाहिर निस्किएका थिए।

त्यसैगरी, गत साता इराकको पश्चिमी क्षेत्रमा इन्धन भर्ने कार्यमा संलग्न केसी–१३५ विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ६ जना चालक दल सदस्यको मृत्यु भएको थियो। अमेरिकी सेनाले उक्त दुर्घटना शत्रुको आक्रमण वा आफ्नै पक्षबाट भएको गोली प्रहारका कारण नभएको जनाएको छ।

युद्ध तेस्रो सातातर्फ प्रवेश गर्न लाग्दा क्षेत्रीय अवस्था अझै अनिश्चित बनेको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ३१औँ मरीन अभियान समूह र ट्रिपोली उभयचर तयारी समूहलाई पनि क्षेत्रमा परिचालन गरिएको छ। यूएसएस ट्रिपोली हालै सिंगापुरतर्फ अघि बढिरहेको देखिएको छ।

यद्यपि अमेरिकी अधिकारीहरूले इरानविरुद्धको अभियान सफलतापूर्वक अघि बढिरहेको दाबी गर्दै आएका छन्। अमेरिकी रक्षामन्त्री पिट हेगसेथ ले अमेरिका निर्णायक जिततर्फ उन्मुख रहेको र इरानको हवाई प्रतिरक्षा प्रणाली कमजोर पारिएको बताएका छन्।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com