काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नै उम्मेदवारलाई भोट नदिई अन्य दललाई समर्थन गरेको आशंकामा पार्टीभित्रै खोजी सुरु गरेका छन्। यस्तो कार्यमा संलग्न नेता–कार्यकर्तामाथि कारबाही गरिने चेतावनी पनि दिएका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित जनवर्गीय संगठनका नेताहरूको बैठकलाई सम्बोधन गर्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय तहकै सदस्यहरूले समेत पार्टी उम्मेदवारलाई मतदान नगरेको प्रारम्भिक जानकारी आएको बताए।

advertisement

उनले करिब आधा मत ‘घण्टी’ चुनाव चिह्नमा गएको संकेत प्राप्त भएको उल्लेख गर्दै कसले कहाँ मतदान गर्‍यो वा गरेन भन्ने विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिए। ‘कसले पार्टीलाई भोट हालेन, कसले अन्यत्र हाल्यो भन्ने स्पष्ट रिपोर्ट चाहिन्छ। संलग्नमाथि कारबाही अनिवार्य छ,’ उनले भने।

प्रचण्डका अनुसार अनुशासन उल्लंघन गर्नेहरूमाथि कारबाहीको सुरुवात केन्द्रीय सदस्यबाटै गरिनेछ। उनले पार्टी सुदृढीकरणका लागि यस्तो कदम आवश्यक रहेको बताए।

उनले पार्टी पुनर्गठनको प्रक्रिया पनि यहीँबाट सुरु हुने उल्लेख गर्दै ठोस प्रमाणका आधारमा दोषीमाथि कडा कदम चालिने स्पष्ट पारे।

जेनजी आन्दोलनपछि माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दुई दर्जनभन्दा बढी कम्युनिस्ट घटकबीच एकता भई नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको थियो। निर्वाचनअघि ठूलो दल बन्ने दाबी गरिए पनि अपेक्षा अनुसार परिणाम आउन सकेन।

निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ सिट जित्दा नेपाली कम्युनिस्ट पार्टी ८ सिटमा सीमित रह्यो। प्रचण्ड रुकुम पूर्वबाट निर्वाचित भए पनि सह–संयोजक माधवकुमार नेपाल भने रौतहटबाट पराजित भएका थिए।

निर्वाचनपछि पार्टीले तल्लो तहसम्म सर्कुलर जारी गरी समीक्षा प्रतिवेदन माग गरेको छ। हाल ती प्रतिवेदनहरू संकलन भइरहेको र धेरैजसोमा आफ्नै कार्यकर्ताबाट पर्याप्त समर्थन नपाउँदा पराजय व्यहोर्नु परेको निष्कर्ष उल्लेख गरिएको छ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com