काठमाडौं । संघीय संसद सचिवालयले आगामी चैत १२ गते नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहण कार्यक्रम तय गरेको छ । संविधानअनुसार नयाँ प्रतिनिधि सभा गठन भएपछि सोही प्रतिनिधि सभाले सभामुख निर्वाचित नगर्दासम्म सदस्यहरुमध्ये सबैभन्दा ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा संसद बैठक चलाउनु पर्छ ।

संसद सचिवालयले तय गरेको कार्यक्रमअनुसार १२ गते बिहान ज्येष्ठ सदस्यले शपथ ग्रहण गर्नेछन् । उनलाई राष्ट्रपतिले शपथ ग्रहण गराउनेछन् । त्यसपछि ज्येष्ठ सदस्यले सभामुखको हैसियतमा अन्य सदस्यहरुलाई शपथ ग्रहण गराउन्छन् । यस पटक प्रतिनिधि सभामा सबैभन्दा जेठा सदस्य नेपाली कांग्रेसका अर्जुननरसिंह केसी छन् । उनी ७८ वर्षका छन् ।

advertisement

संसद सचिवालयले भने अहिलेसम्म ज्येष्ठ सदस्यको घोषणा गरिसकेको छैन । सचिवालयले अहिले सबै सदस्यहरुको विवरण हेरिरहेको र उनीहरुको व्यक्तिगत विवरण जाँच गरेपछि जुन सदस्य सबैभन्दा जेठा प्रमाणित हुन्छन् उनैबाट बाँकी सांसदको शपथ ग्रहण गराउने तयारी गरिरहेको बताएको छ ।

शपथपछि प्रतिनिधि सभाको नियमित बैठकबाट सभामुख निर्वाचित नहुँदासम्म केसीले नै सभामुखको भूमिका निभाउनेछन् । सभामुख र उपसभामुख निर्वाचित भएपछि भने केसीको सभामुखको रुपमा भूमिका समाप्त हुनेछ । त्यसपछिका बैठक सभामुख, उपसभामुख र विभिन्न दलबाट बैठक संचालनका लागि मनोनित सदस्यहरुले बैठक चलाउनेछन् ।

ज्येष्ठ सदस्य केसी पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय छन् । उनी पञ्चायतकालमा राष्ट्रिय पञ्चायक निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएर सूर्यबहादुर थापाको सरकारमा मन्त्री भएका थिए । बहुदलपछि पनि उनी पटक पटक मन्त्री भए । उनले आफ्नो क्षेत्र नुवाकोटबाट यसअघि ४ पटक संसदीय निर्वाचन जितेका छन् ।

उनी नेपाल विद्यार्थी संघको संस्थापक सदस्य हुन् । तत्कालीन समयमा नेपाल विद्यार्थी संघ गठन हुनुपूर्वको तदर्थ समितिमा केसीसहित शेरबहादुर देउवा र रामचन्द्र पौडेल सदस्य थिए । केसी राजनीतिज्ञसँगै पूर्व प्राध्यापक पनि हुन् । उनी नेपाली कांग्रेसका भर्खरै राजीनामा दिएका सभापति गगन थापाका ससुरा समेत हुन् ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com