काठमाडौं । भाद्र २३ र २४ गते भएको जेनजी विद्रोहको सत्य–तथ्य सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेनजी जनएकता अभियानले राजधानीको माइतीघर मण्डलामा दबाबमूलक प्रदर्शन गरेको छ।

जेनजीहरुले ‘कार्की आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गर’ भन्दै सरकारसँग पारदर्शिता र जवाफदेहिताको माग गरेका छन्। उनीहरूले आयोगको प्रतिवेदन सार्वजनिक नगरिनु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

advertisement

अभियानका संयोजक सुनिल सिंहले सरकारको ढिलासुस्तीप्रति कडा आपत्ति जनाउँदै भने, ‘जनताको आवाजलाई बेवास्ता गरेर प्रतिवेदन लुकाउनु स्वीकार्य छैन। भाद्र २३–२४ का घटनाको सत्य बाहिर ल्याउनु सरकारको दायित्व हो। यदि अझै ढिलाइ गरिन्छ भने हामी आन्दोलनलाई थप सशक्त बनाउँदै देशव्यापी रूपमा विस्तार गर्नेछौं।’

उनले थपे, ‘यो कुनै राजनीतिक स्वार्थको आन्दोलन होइन, यो सत्य, न्याय र जवाफदेहिताको लडाइँ हो। कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म हाम्रो दबाब जारी रहनेछ।’

प्रदर्शनमा सहभागी जेनजी युवाहरूले ‘सत्य लुकाउन पाइँदैन’, ‘न्याय चाहियो’, ‘छोराले रगत बगायो : आमाले दोषी भगायो’ जस्ता प्लेकार्ड बोकेका थिए। उनीहरूले, विद्रोहका क्रममा भएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
शान्तिपूर्ण रूपमा सम्पन्न उक्त प्रदर्शनले सरकारलाई तत्काल निर्णय लिन दबाब दिने अपेक्षा गरिएको जेनजीहरुले बताएका छन्।

यता, सरकारको तर्फबाट भने प्रतिवेदन सार्वजनिक गर्ने विषयमा हालसम्म स्पष्ट धारणा सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com