काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीसँगै मन्त्रिपरिषद् सानो र प्रभावकारी बनाउने आन्तरिक रणनीतिमा जुटेको छ।

पार्टीका शीर्ष नेताहरू—सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह लगायत—पछिल्ला केही दिनदेखि सरकार गठन र मन्त्रिपरिषद् संरचनाबारे निरन्तर छलफलमा छन्।

advertisement

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेखनीय बहुमत हासिल गरेपछि पार्टीले एक्लै सरकार गठन गर्ने तयारी गरेको छ। निर्वाचनअघि नै प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सारेको रास्वपाले अब सोहीअनुसार सरकार गठन प्रक्रिया अघि बढाएको छ।

पार्टीभित्र मन्त्रालयको संख्या घटाएर अधिकतम १५ देखि १८ वटामा सीमित गर्ने विषयमा गम्भीर छलफल भइरहेको छ। हाल कायम २२ वटा मन्त्रालयलाई घटाएर ‘स्मार्ट’ र परिणाममुखी टोली निर्माण गर्ने लक्ष्य रहेको एक नेताले बताएका छन्।

रास्वपाले चुनावअघि सार्वजनिक गरेको घोषणापत्रमै मन्त्रालय संख्या घटाउने प्रतिबद्धता जनाएकाले त्यसलाई कार्यान्वयन गर्ने तयारी भएको हो।

स्रोतका अनुसार सम्भावित मन्त्रिपरिषद् गठनका लागि केही नामहरूमा प्रारम्भिक सहमति बनिसकेको छ। उपसभापति डोलप्रसाद अर्याल लाई गृहमन्त्री र अर्का उपसभापति स्वर्णिम वाग्ले लाई अर्थमन्त्री बनाउने चर्चा बलियो छ।

यसअघि गृहमन्त्रालयका लागि महामन्त्री सुनील लम्सालको नाम पनि चर्चामा आएको थियो। पार्टीले विवादरहित, सक्षम र परिणाम दिन सक्ने व्यक्तिलाई मन्त्री बनाउने स्पष्ट नीति लिएको बताइएको छ।

स्वास्थ्य मन्त्रालयमा भने डा. लेखजंग थापा र तोसिमा कार्कीमध्ये कसलाई जिम्मेवारी दिने भन्ने विषय अझै टुंगिन बाँकी छ। त्यस्तै, परराष्ट्र, शिक्षा, कानुन लगायतका मन्त्रालयका लागि पनि विभिन्न नामहरूमा छलफल जारी रहेको जनाइएको छ।

पार्टीले पारदर्शी, जनमुखी र परिणाममुखी सरकार गठन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै नेताहरूले जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैबीच चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथग्रहण र १३ गते प्रधानमन्त्रीको शपथ लिने मिति तय भइसकेको छ। संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने सहमति भएको र त्यसलाई अनुमोदन गर्न चैत १२ गते केन्द्रीय समिति बैठक बस्ने तयारी रहेको रास्वपाले जनाएको छ।

प्रकाशित मिति: ६ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com