काठमाडौं । जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।
नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गएराति २ बजे राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ झ्याउलेक मोडमा दुर्घटनामा परेको हो।
दुर्घटनामा परेर घाइते हुनेमा चालक ३६ वर्षीय कृष्ण विष्ट र २५ वर्षीया निर्मला विष्ट रहेका छन्। निर्मलाका सात वर्षीय छोरा अभिषेक र चार वर्षीय छोरा प्रयान्स पनि घाइते भएका छन्। यो जानकारी बैतडीका प्रहरी प्रवक्ता सुरज सिंहले दिएका छन्।
घाइते चारै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ।
दुर्घटनाग्रस्त ट्रक सडकबाट करिब २५ मिटर तल खसेको छ भने दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार












प्रतिक्रिया