काठमाडौं। मध्यपूर्वमा इरान र अमेरिका–इजरायलबीचको युद्ध तीव्र बन्दै जाँदा इरानले विश्वभरका पर्यटकीय तथा मनोरञ्जन स्थलहरूलाई पनि प्रतिशोधात्मक आक्रमणको निशाना बनाउने चेतावनी ( इरानको चेतावनी) दिएको छ ।
अल जजीराका अनुसार इरानी सेनाका मुख्य प्रवक्ता जनरल अबोलफजल शेकार्चीले पार्क, मनोरञ्जन क्षेत्र र पर्यटकीय गन्तव्यहरू इरानका शत्रुहरूका लागि सुरक्षित नरहने स्पष्ट पारेका छन् ।
यो धम्कीसँगै इरानले मध्यपूर्वभन्दा बाहिर पनि ‘असिमेट्रिक’ (छापामार शैलीका) आक्रमणहरू गरेर दबाब बढाउन सक्ने भन्दै विश्वभर चिन्ता थपिएको छ ।
इजरायलले यसै साताको सुरुमा इरानको विशाल ‘साउथ पार्स’ अफशोर प्राकृतिक ग्यास क्षेत्रमा बमबारी गरेपछि इरानले खाडी अरब मुलुकका ऊर्जा केन्द्रहरूमा आक्रमण तीव्र पारेको छ ।
अल जजीराका अनुसार शुक्रबार बिहान कुवेतको मिना अल–अहमदी तेल प्रशोधन केन्द्रमा इरानले दुई चरणमा ड्रोन आक्रमण गरेको छ ।
आक्रमणका कारण त्यहाँ भिषण आगलागी भएको बताइएको छ ।
दैनिक ७ लाख ३० हजार ब्यारेल तेल प्रशोधन गर्ने क्षमता भएको यो प्रशोधन केन्द्र मध्यपूर्वको ठूला प्रशोधन केन्द्रहरूमध्ये एक हो ।
कच्चा तेलको अभाव र अमेरिकालाई जवाफ
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिंगटनले समुद्रमा इरानी तेलमाथिको प्रतिबन्ध खुकुलो पार्न सक्ने संकेत गरेपछि इरानले कडा जवाफ दिएको छ ।
इरानी तेल मन्त्रालयका प्रवक्ता सामन घोड्दुसीले भनेका छन्,
‘हाल इरानसँग अन्तर्राष्ट्रिय बजारमा आपूर्ति गर्नका लागि कुनै पनि अतिरिक्त कच्चा तेल बाँकी छैन ।
अमेरिकी अर्थमन्त्रीको भनाइ केवल खरिदकर्ताहरूलाई आशा दिने उद्देश्यले आएको हो ।’
युएईलाई कडा चेतावनी
इरानले संयुक्त अरब इमिरेट्स (युएई) लाई पनि कडा चेतावनी दिएको छ ।
यदि युएईको भूमि प्रयोग गरेर फारसको खाडीमा रहेका इरानी टापुहरूमा पुनः आक्रमण भएमा इरानले युएईको ‘रास अल-खैमाह’ शहरमा ‘ध्वंसात्मक प्रहार’ गर्ने चेतावनी दिएको छ ।
रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलमार्ग नजिकै रहेका यी टापुहरूबाट विश्वको झण्डै पाँच भागको एक भाग तेल र ग्यास ढुवानी हुने गर्दछ ।
यसै महिनाको सुरुमा युएईले रास अल-खैमाहको अल-हाम्रा गाउँ क्षेत्रमा एउटा ड्रोन खसालेको दाबी गरेको थियो ।
इजरायल र इरानबीच बढ्दो तनावले अहिले सम्पूर्ण खाडी क्षेत्र र विश्वकै सुरक्षा व्यवस्थामा चुनौती थपेको छ ।
यो घटनाले पर्यटन क्षेत्रमा पनि ठूलो असर पार्ने देखिएको छ ।
पर्यटकीय स्थलहरू असुरक्षित हुने चेतावनीसँगै विश्वका धेरै देशहरूले आफ्ना नागरिकलाई मध्यपूर्व यात्रा नगर्न वा उच्च सतर्कता अपनाउन सल्लाह दिइरहेका छन् ।
खाडी क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षामा पनि चिन्ता बढेको छ ।
परराष्ट्र मन्त्रालयले नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न आग्रह गरिसकेको छ ।
प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार













प्रतिक्रिया