काठमाडौं । गायक तथा सर्जक प्रकाश सपुत पुनः आफ्नो मूल पहिचान—कलाकारितामा सक्रिय रूपमा फर्किएका छन्। उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत भावनात्मक स्ट्याटस लेख्दै आफू अब पूर्ण रूपमा मनोरञ्जन क्षेत्रमा केन्द्रित हुने बताएका हुन्।
सपुतले लेखेका छन्, ‘अब म ढुक्क भएर दर्शक–श्रोतालाई मनोरञ्जन दिन चाहन्छु। मेरो बाल मस्तिष्कले बोकेको सामाजिक र राजनीतिक चेतनाको भारी बिसाएर केवल एक इमानदार कलाकार बन्न चाहन्छु। समाज र राज्यको नजरमा समान रूपमा हेरिने साधारण नागरिक बन्ने मेरो चाहना हो।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा प्रस्तावित भए पनि अन्तिम चयनमा नपरेका सपुतले आफ्नो पाँच वर्ष देशका लागि समर्पित गर्ने सोचसहित चुनावी प्रक्रियामा होमिएको उल्लेख गरेका छन्। यद्यपि, सूचीबाट बाहिरिनुमा आफूलाई कुनै गुनासो नरहेको उनले स्पष्ट पारेका छन्।
सपुतले पार्टी सभापति रवि लामिछाने ले पार्टीभित्रै रहेर देशका लागि योगदान गर्न दिएको प्रस्तावलाई पनि स्मरण गरेका छन्। साथै, उनले लामिछानेलाई देशमा वास्तविक परिवर्तनको अनुभूति दिलाउने गरी काम गर्न सुझाव दिएका छन्।
प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार













प्रतिक्रिया