काठमाडौं । अमेरिका र इजरायलको निरन्तर आक्रमणका बीच इरानका सर्वोच्च नेता मोजतबा खामेनेईले फारसी नयाँ वर्षको अवसरमा दिएको लिखित सन्देशमार्फत इरानका शत्रुहरू पराजित हुँदै गएको दाबी गरेका छन्।

नौरोज पर्व मनाइरहेका इरानी नागरिकलाई सम्बोधन गर्दै उनले राष्ट्रको दृढता र एकताको प्रशंसा गरेका छन्। साथै उनले नयाँ वर्षलाई राष्ट्रिय एकता, राष्ट्रिय सुरक्षा र ‘प्रतिरोध अर्थतन्त्र’लाई बलियो बनाउने वर्षका रूपमा घोषणा गरेका छन्।

advertisement

उनको भनाइमा, धार्मिक, बौद्धिक, सांस्कृतिक तथा राजनीतिक मतभेद भए पनि देशभित्र देखिएको असाधारण एकताले शत्रुको योजनालाई असफल बनाइरहेको छ। ‘यही एकताका कारण शत्रुहरू पराजित भइरहेका छन्,’ उनले सन्देशमा उल्लेख गरेका छन्।

फेब्रुअरी २८ मा युद्ध सुरु भएको क्रममा उनका पिता तथा इरानका पूर्व सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई को हत्या भएपछि मोजतबा सर्वोच्च नेतृत्वमा पुगेको बताइन्छ। यद्यपि, नेतृत्व सम्हालेपछि उनी हालसम्म सार्वजनिक रूपमा देखिएका छैनन्।

सन्देशमा उनले अमेरिका र इजरायलले केही दिनको आक्रमणपछि इरानी जनता नै सरकारविरुद्ध उठ्ने अपेक्षा गरेको, तर त्यो उनीहरूको गलत आकलन भएको बताएका छन्।

उनका अनुसार युद्ध सुरु गर्ने पक्षले शीर्ष राजनीतिक नेतृत्व र प्रभावशाली सैन्य व्यक्तित्वहरू मारिएमा इरानी समाजमा डर र निराशा फैलिने ठानेको थियो। त्यसैका आधारमा इरानमाथि प्रभुत्व जमाउने र अन्ततः देशलाई विभाजन गर्ने उद्देश्य राखिएको दाबी उनले गरेका छन्।

उता, केही विश्लेषकहरूका अनुसार इरानको संविधान नै संकट वा सत्ता शून्यताको अवस्थालाई समेत ध्यानमा राखेर तयार गरिएको छ। यस्तो संरचनाले गम्भीर चुनौतीका बीच पनि शासन प्रणाली निरन्तर चलिरहने ‘सर्भाइभल प्रोटोकल’को रूपमा काम गर्न सक्ने क्षमता राख्ने बताइन्छ।

प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com