काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेकपा एमालेले आफ्ना कमजोरी समयमै सुधार्न नसके आगामी निर्वाचनमा पार्टीको सिट संख्या अत्यन्तै घट्न सक्ने चेतावनी दिएका छन्।

शनिबार बुटवलमा चिन्तन अभियान नेपाल ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पछिल्ला तीन वटा निर्वाचन परिणामले एमाले मात्र होइन, समग्र पुराना राजनीतिक दलहरूको अवस्था कमजोर बन्दै गएको संकेत गरेको बताए। कार्यशैली परिवर्तन नगर्ने हो भने सबै दलहरू सामूहिक रूपमा राजनीतिक अवसानतर्फ उन्मुख हुने उनको भनाइ थियो।

advertisement

सुरेन्द्र पाण्डेले २०७४ सालको निर्वाचनमा एमालेले १७४ सिट जितेको स्मरण गर्दै त्यस उपलब्धिलाई जोगाउन नसक्नु ठूलो कमजोरी भएको बताए। उनले व्यंग्यात्मक शैलीमा भने, ‘पहिला कम्युनिस्टहरू तीन–चार वटा बसमा अट्थे, २०७९ सम्म आइपुग्दा एउटा बसमा सीमित भयौं, अहिले माइक्रोबसमा अट्ने अवस्थामा पुगेका छौं। यस्तै अवस्था रहे अर्को निर्वाचनमा स्कुटरमै अट्ने स्थिति आउन सक्छ।’

उनले पार्टीहरूले आफ्ना कमजोरीप्रति आत्मालोचना गर्दै सुधारको बाटो नसमाते आगामी दिनमा चुनाव लड्न इच्छुक उम्मेदवार समेत नपाइने अवस्था आउन सक्ने चेतावनी दिए। ‘नेतृत्वले गल्ती स्वीकार गरेर सुधार्न तयार नहुने हो भने हार निश्चित भएको निर्वाचन लड्न कार्यकर्ता किन तयार हुन्छन् ?’ उनले प्रश्न गरे।

पाण्डेका अनुसार विगतमा सही दिशा लिन नसक्दा नै पार्टीहरू अहिलेको अवस्थामा पुगेका हुन्, त्यसैले अब विगतका कमजोरी सच्याउँदै सही मार्गतर्फ अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए।

साथै, उनले संविधान निर्माणका क्रममा दलको अध्यक्ष वा प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी बन्न नपाउने व्यवस्था गर्न नसक्नु पनि ठूलो कमजोरी भएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति: ७ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com