काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चर्किँदै जाँदा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षले छुट्टै केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेका छन्।
आइतबार धुम्बाराहीमा बसेको बैठकमा तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहित १४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरू सहभागी थिए। बैठकले सोही महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाई हालै सम्पन्न निर्वाचनको समीक्षा गर्ने निर्णय गरेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन्।
उनका अनुसार केन्द्रीय कार्यसमिति बैठकको मिति छिट्टै आपसी समझदारीमा तय गरिनेछ र त्यसमा पार्टीको आगामी कार्यदिशा तथा रणनीतिबारे विस्तृत छलफल गरिनेछ।
देउवा–कोइराला समूहको यस निर्णयले पार्टीभित्रको विवाद थप गहिरिने संकेत देखिएको छ। यसअघि पुस २७ देखि ३० गतेसम्म विशेष महाधिवेशनमार्फत गगन थापा को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको थियो, जसप्रति देउवा र कोइराला समूहले असहमति जनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उक्त रिट हाल विचाराधीन अवस्थामा छ।
यद्यपि, निर्वाचन आयोग ले थापा नेतृत्वलाई आधिकारिकता प्रदान गरिसकेको छ। थापाकै नेतृत्वमा कांग्रेस हालै सम्पन्न निर्वाचनमा सहभागी भए पनि अपेक्षित सफलता हासिल गर्न सकेन।
यसैबीच, थापा नेतृत्वको केन्द्रीय कार्यसमिति चुनावी समीक्षा बैठकमा जुटिरहेका बेला देउवा–कोइराला समूहले समानान्तर बैठकको तयारी गर्नुले पार्टीभित्रको शक्ति संघर्ष अझ स्पष्ट रूपमा सतहमा आएको देखिन्छ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार













प्रतिक्रिया