काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरणमा भ्रष्टाचारको मुद्दा उठाउँदै पूर्वसचिव र नेपाल नागरिक उड्डयन प्राधिकरणका तीन पूर्वमहानिर्देशकसहित २१ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी र नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल र प्रदीप अधिकारी लाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको हो। उनीहरूमाथि सार्वजनिक सम्पत्तिमा क्षति पुर्याई भ्रष्टाचार गरेको आरोप छ।
अख्तियारको अनुसन्धानअनुसार विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैंकको ऋण सहयोगमा ठेकेदार कम्पनी ‘चाइना सीएएमसी इन्जिनियरिङ’सँग सम्झौता हुँदा परामर्शदाता नियुक्तिका लागि २८ लाख अमेरिकी डलर छुट्याइएको थियो। तर, उक्त बजेटको सट्टा प्राधिकरणको छुट्टै शीर्षकबाट ५० करोड ३४ लाख ४० हजार ६९६ रुपैयाँको लागत अनुमान स्वीकृत गराएर सार्वजनिक संस्थालाई ठूलो आर्थिक नोक्सानी पुर्याइएको छ।
परामर्शदाता ‘ईआरएमसी/ए–नट/स्लेट जेभी’ सँग ४२ करोड ८९ लाख ३६ हजार ७०० रुपैयाँमा सम्झौता गरी हालसम्म ४० करोड ६८ लाख २६ हजार ५६८ रुपैयाँ भुक्तानी भइसकेको छ। अनुसन्धानले देखाएको छ कि ठेक्का सम्झौताका सर्त विपरीत अस्वाभाविक रूपमा बढी लागत अनुमान तयार गर्ने, राष्ट्रिय स्तरको मात्र प्रतिस्पर्धा गराउने र परामर्शदातालाई फाइदा पुर्याउने गरी प्रक्रिया अगाडि बढाइएको थियो।
त्यसैगरी ठेकेदार कम्पनी चाइना सीएएमसीले छुट्याइएको २८ लाख अमेरिकी डलरमध्ये जम्मा १० हजार डलर मात्रै परामर्शमा खर्च गर्ने र बाँकी रकम अन्यत्र खर्च गर्ने जालसाजीपूर्ण मूल्य तालिका (प्राइस सेड्यूल) संशोधन गरेको पाइएको छ। परिमार्जित तालिकामा परिमाण घटेका वस्तुमा पुरानो महँगो दर कायम राख्ने र परिमाण बढेका वस्तुमा अतिरिक्त रकम देखाएर प्राधिकरण ठगी गरिएको अख्तियारको निष्कर्ष छ।
अख्तियारले प्रकरणमा संलग्न कर्मचारी, ठेकेदार कम्पनी चाइना सीएएमसी र परामर्शदाता कम्पनीका प्रतिनिधिहरूलाई समेत विपक्षी बनाएको छ। आयोजना कार्यान्वयन अघि नहुँदै खरिद प्रक्रिया सुरु गर्नु र स्वीकृत बजेट नहुँदै सम्झौता गर्नुले भ्रष्टाचारको स्पष्ट उद्देश्य देखाएको आयोगले जनाएको छ। यसरी सार्वजनिक सम्पत्तिको चरम दुरुपयोग भएको भन्दै अख्तियारले बिगो र जरिवाना सहित कडा कारबाहीको माग गरेको छ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार













प्रतिक्रिया