काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन बाट ६ दलले राष्ट्रिय मान्यता पाएका छन् । प्रत्यक्षतर्फ १ सिट र समानुपातिक प्रणालीतर्फ खसेर सदर भएको मतको ३ प्रतिशत मत पाउने दलले राष्ट्रिय मान्यता पाउँछन् ।
कानुनमा निर्धारण भएको त्यो मापदण्ड पूरा गरेर ६ दलले राष्ट्रिय मान्यता पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता पाउन सफल भएका हुन् ।
राष्ट्रिय मान्यता प्राप्त दलले सरकारबाट पाउने विभिन्न सेवा सुविधा थप पाउने व्यवस्था सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ ले गरेको छ । तर, त्यही ऐनका कारण राष्ट्रिय मान्यता प्राप्त दल बने पनि श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख सचेतकको सुविधा नपाउने भएका हुन् ।
ऐनको दफा २ को (ञ) मा तोकिएको व्यवस्थाका कारण यी दुई दलले प्रमुख सचेतकको सुविधा नपाउने भएका हुन् । (ञ) मा लेखिएको छ, ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधिसभामा दश जना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनुपर्छ ।’

तर, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले १० सिट पुर्याएका छैनन् । श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट जितेका छन् । यसले उनीहरूको ऐन अनुसार प्रमुख सचेतकको सुविधा पाउने मापदण्ड नपुगेको हो ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार













प्रतिक्रिया