काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर नैतिक जिम्मेवारी लिँदै सभापति थापाले उपसभापति समक्ष विधानको धारा २६ (१) अनुसार बुझाएका थिए। राजीनामालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गरेको हो।
बैठकमा निर्वाचन परिणामको समीक्षा गर्दै सभापतिले आफ्नो जिम्मेवारीबोधका आधारमा राजीनामा पेश गरेको भए पनि पार्टीको केन्द्रीय नेतृत्वले त्यसलाई स्वीकार नगर्ने निर्णय गरेको हो।
कार्यसमितिले वर्तमान परिस्थितिमा नेतृत्व परिवर्तनको सट्टा संगठन सुदृढीकरण, आगामी रणनीति निर्माण र पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने आवश्यकता रहेको निष्कर्ष निकालेको छ। यसै सन्दर्भमा बैठकले सभापतिको निरन्तरता आवश्यक रहेको ठहर गर्दै उनकै नेतृत्वमा आगामी कार्यहरू अघि बढाउने निर्णय गरेको छ।
बैठकले निर्वाचन परिणामपछि देखिएका चुनौतीहरूको समीक्षा गर्दै पार्टीभित्र सुधारका कार्यक्रम अघि बढाउने र जनअपेक्षा अनुसार संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
यस निर्णयसँगै सभापति थापाको राजीनामा सम्बन्धी विवाद टुंगिएको छ र पार्टी नेतृत्व यथावत रहने भएको छ।
बैठकले राजीनामा अस्वीकार गर्नुका आधारहरू पनि सार्वजनिक गरेको छ। निर्वाचन पराजय संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिका कारण भएको ठहर गर्दै वर्तमान जटिल राष्ट्रिय अवस्थामा सभापतिको नेतृत्व अझ आवश्यक रहेको उल्लेख गरिएको छ। साथै, राजीनामा स्वीकार गर्दा पार्टीभित्र अस्थिरता र कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेको निष्कर्ष निकालिएको छ।
त्यसैगरी, बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत २७ बुँदे निर्वाचन परिणाम प्रारम्भिक समीक्षा प्रतिवेदनमा विस्तृत छलफल गरी केही परिमार्जनसहित पारित गरेको छ। प्रतिवेदन अनुसार निर्वाचन परिणामका प्रमुख कारणहरूमा आन्तरिक गुटबन्दी, संगठनात्मक कमजोरी, गठबन्धन सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि, संरचनागत राजनीतिक अस्थिरता, जेन–जेड युवा आन्दोलनबाट उत्पन्न असन्तोष तथा डिजिटल प्रभावले नयाँ शक्तिलाई पुगेको लाभ जस्ता पक्षहरू रहेका छन्।
बैठकले अब पार्टीलाई १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्ने निर्णय गरेको छ, जसअन्तर्गत नयाँ नेतृत्व चयन, विधान संशोधन, संगठन पुनर्संरचना र भावी रणनीति तय गरिनेछ। साथै, पार्टी पुनर्निर्माण र सुदृढीकरणलाई अवसरका रूपमा लिँदै कार्यकर्तालाई उच्च मनोबल र एकता कायम राख्न आह्वान गरिएको छ।
बैठकले निर्वाचन प्रक्रियामा सहभागी सबै उम्मेदवार, कार्यकर्ता तथा मतदाताप्रति आभार व्यक्त गर्दै विजयी उम्मेदवारहरूलाई बधाईसमेत दिएको छ। साथै, मध्यपूर्वमा जारी द्वन्द्व, नेपाली नागरिकको सुरक्षालगायत विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सम्बन्धित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ।
बैठकले विभिन्न पार्टी नेताहरूको निधनप्रति शोक प्रस्ताव पारित गर्दै एक मिनेट मौन धारणसमेत गरेको छ।
प्रकाशित मिति: ८ चैत्र २०८२, आइतबार













प्रतिक्रिया