काठमाडौँ । विश्वभर छरिएर रहेका नेपाली मूलका नागरिक तथा गैरआवासीय नेपाली (एनआरएन) का लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल मा आगमन र प्रस्थान कक्षमा छुट्टै डेस्क राखिने भएको छ।
अध्यागमन विभाग का अनुसार विदेशमा रहेका एनआरएन र नेपाली मूलका विदेशी नागरिकहरूमा नेपाली भाषा, संस्कृति र मातृभूमिप्रतिको आत्मीयता बढाउन तथा पर्यटन र लगानी प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। यसका लागि विभागले आइतबार विमानस्थल कार्यालयलाई छुट्टै डेस्क व्यवस्थापन गर्न पत्राचार गरेको जनाएको छ।
यस विषयमा एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) ले लामो समयदेखि सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो। गृह प्रशासनले निर्णय गरेपछि संस्थाले स्वागत गरेको छ।
एएनओका अध्यक्ष डिल्ली अधिकारी द्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गृह मन्त्रालयको यो निर्णयले विश्वभर रहेका नेपाली मूलका नागरिकहरूले आफूहरू सम्मानित भएको महसुस गरेका छन्। यसको कार्यान्वयनले नेपालीपनलाई नेपालसँग अझ मजबुत रूपमा जोड्ने विश्वास गरेका छौँ।”
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार













प्रतिक्रिया