एजेन्सी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा खसेको क्षेप्यास्त्रको भग्नावशेषका कारण एक भारतीय नागरिक घाइते भएका छन्।
राज्य सञ्चारमाध्यमलाई उद्धृत गर्दै अधिकारीहरूले दिएको जानकारीअनुसार, वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्रलाई सफलतापूर्वक अवरोध गरेपछि त्यसका टुक्राहरू जमिनमा खसेका थिए। सोही क्रममा एक भारतीय नागरिक सामान्य रूपमा घाइते भएका हुन्।
अधिकारीहरूले घटनाबारे पुष्टि गर्दै नागरिकलाई आधिकारिक स्रोतबाट मात्र सूचना लिन आग्रह गरेका छन्। साथै, अफवाह वा अप्रमाणित जानकारी नफैलाउन र त्यस्ता सामग्री साझा नगर्न समेत सचेत गराइएको छ।
समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) ले पनि उक्त घटनाको पुष्टि गरेको छ। पीटीआईका अनुसार सोमबार अबुधाबीको अल–शवामेख क्षेत्रमा अवरोध गरिएको ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक भारतीय नागरिक सामान्य रूपमा घाइते भएका हुन्।
यूएई रक्षा मन्त्रालयले देशको वायु रक्षा प्रणाली इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र र ड्रोनको सम्भावित खतरालाई निष्क्रिय पार्न सक्रिय रहेको जनाएको छ।
मन्त्रालयका अनुसार अबुधाबी क्षेत्रमा सुनिएका ठूलो आवाजहरू पनि क्षेप्यास्त्र र ड्रोनहरू अवरोध गर्दा उत्पन्न भएका थिए।
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार













प्रतिक्रिया