पोखरा । सूर्यदर्शन सहकारीका पीडितका रूपमा चिनिएका कृष्ण जैसी आफैं सहकारी ठगी आरोपमा पक्राउ परेका छन्।
चुनावी अभियानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–३ की उम्मेदवार विना गुरुङलाई उनले आफ्ना छोराछोरीको विद्यालय शुल्कको बिल बुझाउँदै सहकारीबाट ठगिएको रकम फिर्ता गराउन आग्रह गरेका थिए। उक्त विषयलाई पार्टी सभापति रवि लामिछानेले समेत उठाएका थिए।
तर सोही जैसी अहिले पोखराकै धनुष सहकारी ठगी प्रकरणमा ८२ लाख रुपैयाँ अपचलन गरेको आरोपमा पक्राउ परेका हुन्। यद्यपि, नेपाल प्रहरीले उनको पक्राउबारे औपचारिक पुष्टि गरिसकेको छैन भने म्याद थप प्रक्रिया बाँकी रहेको जनाइएको छ।
वित्तीय विश्लेषण प्रतिवेदनअनुसार उक्त सहकारीमा १२ करोड ५६ लाख रुपैयाँ हिनामिना भएको देखिएको छ, जसमा १३ जनालाई प्रतिवादी बनाइएको छ। प्रदेश सहकारी रजिस्ट्रार भेषराज रिजालका अनुसार प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको छ।
अनुसन्धानले सहकारीको रकम हिनामिनामा पदाधिकारी र व्यवस्थापन पक्षको मुख्य भूमिका देखाएको छ। विशेषतः साबिक साइनो सहकारीसँग सम्बन्धित सञ्चालकहरू बढी संलग्न रहेको निष्कर्ष छ।
इन्जिनियर असीम बराल र सिर्जना गुरुङले मिलेमतोमा ३ करोड १७ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ। उनीहरूले सहकारीमा अस्तित्वमै नभएका व्यक्तिको नाममा रकम निकालेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हाल गुरुङ अमेरिका र बराल फ्रान्सतर्फ रहेको स्रोतको दाबी छ।
जैसीमाथि पनि कृत्रिम बचत खाता खडा गरी मिटरब्याज कारोबारमा रकम प्रयोग गरेको आरोप लागेको छ। सहकारीका अन्य दुई व्यवस्थापक विराज सुवेदी र जगत पौडेलमाथि क्रमशः २ करोड २५ लाख र १ करोड २५ लाख रुपैयाँ व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ९ चैत्र २०८२, सोमबार













प्रतिक्रिया