काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानी विद्युत केन्द्रमाथि आक्रमण केही दिनका लागि स्थगित गर्ने घोषणा गरेपछि विश्व तेल बजारमा मूल्य ह्वात्तै घटेको छ भने युरोपेली र अमेरिकी सेयर बजारमा सुधार देखिएको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन् कि अमेरिका र इरानबीच मध्यपूर्वको द्वन्द्वको समाधानका लागि सप्ताहन्तमा वार्ता भएको र वार्ता गहन, विस्तृत र रचनात्मक भएकाले सेनालाई इरानका विद्युत केन्द्रमाथि आक्रमण पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको बताए।

advertisement

तर, इरानले ट्रम्पको दाबी पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमार्फत यो समाचारलाई फेक र अमेरिका तथा इजरायलको दलदलबाट बाहिर निस्कन फैलाइएको झुटो समाचार भनेका छन्। यसअघि ट्रम्पले होर्मुज समुद्री मार्ग ४८ घन्टाभित्र नखुले इरानका विद्युत केन्द्र नष्ट पारिने धम्की दिएका थिए। यस द्वन्द्वले विश्व वित्तीय बजारमा अस्थिरता ल्याएको छ।

तेल मूल्यमा सोमबार एक बिन्दुमा अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य $११३ प्रति ब्यारेल पुगेको थियो। तर ट्रम्पको बयानपछि मूल्य तीव्र गतिमा घटेर $९६ प्रति ब्यारेलमा झरेको छ। विश्लेषकका अनुसार मूल्य अझै $१०० माथि रहँदा उपभोक्ता र व्यावसायिक प्रतिष्ठानहरूलाई ऊर्जाको बोझ रहन्छ ।

सेयर बजारमा बेलायत, जर्मनी, फ्रान्स र अमेरिकाका प्रमुख सूचकांक सकारात्मक क्षेत्रमा बन्द भए। तर एसियाली बजार, विशेष गरी जापान र दक्षिण कोरियामा, होर्मुज जलसन्धिबाट ऊर्जा आपूर्तिमा निर्भरता भएकोले भारी गिरावट देखिएको छ।अन्तर्राष्ट्रिय ऊर्जा निकायका प्रमुख फातिह बिरोलले यो संकटलाई १९७० को दशकको तेल संकट र २०२२ मा रूस–यूक्रेन द्वन्द्वपछिको ऊर्जा संकटसँग तुलना गर्दै यसले विश्वभर नीति निर्मातालाई सतर्क बनाएको बताएका छन्।

बेलायतका प्रधानमन्त्री सर किर स्टार्मरले उच्चस्तरीय बैठक बोलाएर ऊर्जा सुरक्षा, आपूर्ति शृंखला मजबुती र युद्धले जनजीवनमा पार्ने प्रभावबारे छलफल गरेका छन्।लगानी विशेषज्ञ सुसानाह स्ट्रिटरका अनुसार ट्रम्पका बयानले बजारलाई अस्थिर बनाएको छ। आपूर्ति मार्गमा भएको क्षति र पूर्वाधार नोक्सानीका कारण मध्यपूर्वबाट तेल आपूर्ति कम हुने अपेक्षा गरिएको छ र यसको असर विश्व अर्थतन्त्रमा लामो समयसम्म देखिने छ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com