काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छिन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्रीको नियुक्ति लिने र त्यही दिन शपथ समेत गर्ने तयारी छ ।

जिम्मेवारी छाड्न केही दिन मात्रै बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयबाट जिम्मेवारी छाडिसकेकी छिन् ।

advertisement

‘उहाँ अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय नआउने जानकारी गराएर अनौपचारिक रूपमा बिदाबारी हुनुभएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सम्बद्ध एक उपसचिवले भने, ‘कर्मचारीहरूले बिदाइ गर्ने प्रस्ताव गरेका थिए, तर उहाँले मलाई बिदाइ गर्नुपर्दैन, अनौपचारिक रूपमा नै जान्छु भन्नुभएको छ ।’

ती उपसचिवका अनुसार त्यसपछि प्रधानमन्त्री कार्की सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय गएकी छैनन् । कार्यालयमा रहेका उनका सामान पनि सचिवालयका कर्मचारीले लिएर गएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट प्रधानमन्त्री सुशीला कार्की को परिवारले आफ्नो सामान टोखास्थित निजी निवास सारिसकेको छ । केही दिनदेखि टोखास्थित कार्कीनिवासमा सुरक्षाकर्मीहरू राख्न आवश्यक पर्ने संरचना बनाउने गृहकार्य भइरहेको थियो ।

कार्की यसअघि पूर्वप्रधानन्यायाधीश मात्रै थिइन् । अब पूर्वप्रधानमन्त्रीका हैसियतले सुरक्षाका लागि उनको निवासमा सुरक्षाकर्मीको टोली थप्न लागिएको हो ।

‘उनको सबैजसो सामान निजी निवासमा सारिएको छ, उहाँ अब तत्काल टोखा सरिहाल्ने तयारीमा हुनुहुन्छ,’ प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीले भने, ‘शुक्रबार नयाँ प्रधानमन्त्रीको  शपथ लगत्तै उहाँ सोझै निजी निवास जाने तयारी छ ।’

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com