काठमाडौं । काठमाडौँ उपत्यकाको सुरक्षा कमाण्डको जिम्मेवारी सम्हाल्दै आएको सशस्त्र प्रहरी बलको नम्बर–९ पशुपतिनाथ बाहिनी २२औँ वर्षमा प्रवेश गरेको छ। स्थापना दिवसका अवसरमा मङ्गलबार मिनभवनस्थित अस्थायी कार्यालयमा विशेष कार्यक्रम आयोजना गर्दै बाहिनीले आफ्नो यात्रा, उपलब्धि र प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै बाहिनी प्रमुख डीआईजी सुरेश श्रेष्ठले सशस्त्र प्रहरी सङ्गठनमा भइरहेको नीतिगत सुधारलाई व्यवहारमा उतार्न बाहिनी र मातहतका इकाइहरू पूर्ण प्रतिबद्धताका साथ खटिएको बताए। उनले बदलिँदो सुरक्षा चुनौतीसँग जुध्न व्यावसायिकता, अनुशासन र प्रविधिमैत्री कार्यशैली अपरिहार्य भएको उल्लेख गरे।

advertisement

स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने अधिकृत तथा जवानहरूलाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सम्मान तथा पुरस्कृत गरेका छन्। पुरस्कृत हुनेमा एसएसपी नेत्रबहादुर कार्की, डीएसपी ताराबहादुर केसी, इन्स्पेक्टर मदन अधिकारी, सई पवन पाण्डे, असई झलबहादुर चन्द, वरिष्ठ हवल्दार उत्तम बस्नेत, हवल्दार नवराज लामिछाने र बासुदेव लामिछाने, सहायक हवल्दार राम लामा तथा जवान किशनकुमार सिंह रहेका छन्।

त्यस्तै, बाहिनीलाई विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउँदै आएका पेम्बा तेन्जिङ शेर्पा, जगतबहादुर पोखरेल, सन्दीप अग्रवाल तथा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीलाई पनि विशेष सम्मान प्रदान गरिएको छ।

स्थापना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा कविता प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको छ। टिका विद्याश्रमका कक्षा १२ मा अध्ययनरत दिनेश रोकाया प्रथम, एलआरआई स्कुलकी कक्षा ११ की छात्रा अंकिता रिमाल द्वितीय तथा सिबर्ड कलेजकी करुणा श्रेष्ठ तृतीय भएका छन्। उनीहरूलाई सशस्त्र प्रहरीका एआईजीहरुले पुरस्कार प्रदान गरेका थिए।

पशुपतिनाथ बाहिनीले विगत दुई दशकभन्दा बढी समयदेखि उपत्यकाको शान्ति–सुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। स्थापना दिवसका अवसरमा बाहिनीले आगामी दिनमा अझ प्रभावकारी सुरक्षा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: १० चैत्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com