काठमाडौं । चन्द्रनिगाहपुरस्थित जगत रिसोर्टमा व्यवसायिक यौन गतिविधिको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दा नक्कली सुन फेला परेको छ। सो क्रममा चार जनालाई नियन्त्रणमा लिइएको छ।
पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका–३ का ३७ वर्षीय अशोक तामाङ (हाल भारत पश्चिम बंगाल, दार्जिलिङ बस्ने), रौतहट चन्द्रपुर नगरपालिका–१० का ३० वर्षीय अरबिन्द चौधरी, बौधीमाई नगरपालिका–६ का ३८ वर्षीय रुपकेश राय यादव र भारत पश्चिम बंगाल सिलिगुडी जयगाउँ बस्ने ३० वर्षीय संजोक बस्नेत छन्।
प्रहरी स्रोतका अनुसार, भारतबाट आएका व्यक्तिहरूको बसोबास र आपराधिक गतिविधि बढेको सूचना टोलीलाई प्राप्त भएको थियो। मंगलबार टोली घटनास्थल पुग्दा सुनचाँदीको अवैध कारोबार भइरहेको पाइएको थियो।
कक्षको खानतलासी गर्दा चारजनाको साथबाट नक्कली सुनजस्तो देखिने धातु बरामद भएको छ। बरामद सामग्रीमा ‘क्रेडिट सुइस १० ग्राम शुद्ध सुन ९९९ दशमलव ९’ लेखिएको प्याकसहित ४ थान पहेँलो रंगको नक्कली सुनजस्तो धातु, पोली कालो बनाइएको १ थान र टुक्रा पारिएको २ थान गरी कुल ७ थान धातु छन्।
त्यसैगरी, घटनास्थलबाट ६ थान मोबाइल फोन र ‘एन्टिक म्याग्निफाइङ बाइनोकुलर’ ‘इस्ट इन्डिया कम्पनी’ लेखिएको दूरबिनजस्तो मेसिन पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिएका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले थप अनुसन्धान भइरहेको बताएको छ।
प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार













प्रतिक्रिया