काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगसमक्ष काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल ले एभरेष्ट होटलअगाडि प्रहरीको ब्यारिकेट तोडिएपछि गृहमन्त्रीबाट बल प्रयोग गर्न निर्देशन आएको बयान दिएका छन्।

भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गर्न सरकारद्वारा गौरीबहादुर कार्की को नेतृत्वमा आयोग गठन गरिएको थियो। सार्वजनिक भएको प्रतिवेदनअनुसार बानेश्वरस्थित एभरेष्ट होटल अगाडि प्रदर्शनकारीहरूले ब्यारिकेट भत्काएपछि गृहमन्त्रीले चरणबद्ध रूपमा बल प्रयोग गरी स्थिति नियन्त्रणमा लिन निर्देशन दिएको रिजालको बयानमा उल्लेख गरिएको छ।

advertisement

आयोगले घटनाको समग्र मूल्याङ्कन गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ विरुद्ध कारबाही सिफारिस गरेको छ।

प्रतिवेदनमा भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शनका क्रममा युवाहरूको ज्यान जानु जिम्मेवार पदाधिकारीहरूको लापरबाही र असावधानीका कारण भएको ठहर गर्दै मुलुकी अपराध संहिताअनुसार कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ।

आयोगले उनीहरूलाई मुलुकी अपराध संहिताको दफा १८१ बमोजिम ‘लापरबाहीपूर्ण कार्य गरी ज्यान मार्न नहुने’ कसुरमा अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको छ। उक्त दफाअन्तर्गत दोषी ठहरिएमा तीनदेखि १० वर्षसम्म कैद सजाय र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ।

प्रकाशित मिति: ११ चैत्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com