काठमाडौं। राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पद तथा गोपनीयताको शपथ ग्रहणका लागि तयारी पूरा भएको छ ।
नेपालको संविधानको धारा ७६(१) अनुसार बहुमतप्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनी आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनेछन् ।
प्रधानमन्त्री बालेनले शपथ लिएलगत्तै आजै नियुक्त हुने मन्त्रीहरूले पनि शपथ लिने कार्यक्रम रहेको छ । शपथ समारोहमा मुलुकका उच्च पदस्थ पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, समाजका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहने बताइएको छ ।
बालेन शाहको नेतृत्वमा रास्वपाले एकल सरकार गठन गर्दैछ । रास्वपाले झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेको छ । शपथ समारोहपछि नयाँ सरकारले औपचारिक रूपमा कार्यभार सम्हाल्ने छ ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया