काठमाडौं। बालुवा चाल्ने र गिट्टी कुट्ने गरिब परिवारबाट उठेर निरन्तर संघर्ष गर्दै मन्त्री बन्न सफल भएकी सीता वादीले शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पदभार ग्रहण गरेकी छन् ।
नेपालको इतिहासमा वादी समुदायबाट पहिलो पटक संघीय सरकारमा मन्त्री बन्ने अवसर पाएकी उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीबाट सांसद बनेकी थिइन् । सुर्खेतको झुप्रा खोला किनारमा बालुवा चाल्दै र गिट्टी कुट्दै कठोर बाल्यकाल बिताएकी सीता पछि काठमाडौं आएर सामाजिक कार्य र हस्तकला व्यवसाय गर्दै आएकी थिइन् ।
वादी समुदायका अगुवाहरूले यो घटनालाई ऐतिहासिक उपलब्धि ठानेका छन् । उनीहरूका अनुसार वादी समुदायबाट संघीय संसदमा सांसद बन्ने र मन्त्री बन्ने यो पहिलो पटक हो ।
सीता वादीले पदभार ग्रहणपछि महिला, बालबालिका, ज्येष्ठ नागरिक र दलित समुदायको हकअधिकार, शिक्षा, स्वास्थ्य र आर्थिक सशक्तीकरणमा प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएकी छन् । उनी आफ्नो समुदायको प्रतिनिधित्व गर्दै सीमान्तकृत वर्गको आवाज बन्ने बताउँछिन् ।
बालेन शाहको नेतृत्वमा गठित नयाँ सरकारमा सीता वादीको नियुक्तिले वादी समुदायमा ठूलो खुशी र आशा जगाएको छ ।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया