काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत रहँदादेखि नै विवादित छवि बनाएका अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विज्ञान राज शर्मा संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रवेश गर्ने जोडबलमा लागेका छन्।
करिब ३० वर्ष प्रहरी सेवामा बिताएका शर्माले हालै भदौ २३ र २४ मा भएको जेन–जी प्रदर्शनसम्बन्धी छानबिन गर्न गठित आयोगमा सदस्यका रूपमा काम गरेका थिए। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उक्त आयोगले फागुन २४ मा सरकारलाई प्रतिवेदन बुझाएसँगै, शर्मा अख्तियारको आयुक्त बन्ने सक्रिय दौडधूपमा लागेको उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार, प्रतिवेदन तयार हुनुअघि नै शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रभावशाली नेताहरूसँग भेटघाट गरी अख्तियारमा नियुक्ति गरिदिन लबिङ गरेको देखिएको छ।
आयोगभित्रै ‘पूर्वाग्रह’को आरोप
आयोगमा काम गर्दाको भूमिकालाई लिएर नै शर्मामाथि प्रश्न उठेको छ। सुरक्षा निकायका केही उच्च अधिकारीहरूका अनुसार, शर्माले प्रहरी र सशस्त्रका अधिकारीहरूलाई लक्षित गर्दै पूर्वाग्रही ढंगले कारबाही सिफारिस गर्न दबाब दिएको आरोप छ।
एक उच्च प्रहरी अधिकृत भन्छन्— “आयोगभित्रैबाट निष्पक्षता भन्दा पनि निश्चित व्यक्तिहरूलाई टार्गेट गर्ने शैली देखिएको थियो।”
रास्वपाका एक उच्च पदाधिकारीले भने—“उहाँले आफूलाई अख्तियारको आयुक्त बनाउन लबिङ गरिरहनुभएको छ।”
नेपालको संवैधानिक व्यवस्थाअनुसार अख्तियारका आयुक्तहरू संवैधानिक परिषदमार्फत नियुक्त हुने व्यवस्था छ, जसको नेतृत्व प्रधानमन्त्रीले गर्छन्।
आपराधिक गतिविधीमा सक्रिय व्यक्तिसँग ‘कनेक्सन’
अख्तियारको आयुक्त हुने दौडमा रहेका शर्मालाई गुण्डा नाइके राजु गोर्खालीसँग निकट रहेको आरोप लाग्दै आएको छ । शर्मा एसएसपी हुँदा गोर्खालीलाई प्रहरीले पछ्याइरहेको थियो। १० करोड चेक बाउन्स मुद्दाका फरार गोर्खालीलाई शर्माले आफ्नै गाडीमा लिएर जाँदै गर्दा प्रहरीले उनको गाडी रोकेर गोर्खालीलाई नियन्त्रणमा लिएको थियो । त्यसबेला शर्मा एसएसपीको परिचयपत्र देखाएर हिँडेको हाल बहालमा रहेका प्रहरी अधिकृत बताउँछन् । तर, शर्माले सो आरोपबारे कहिल्यै स्पष्ट पारेनन् ।
उनै शर्मालाई अख्तियार आयुक्त बनाउने चलखेल बढेसँगै विभिन्न प्रश्नहरू उठ्न थालेका छन्।
विवादित पृष्ठभूमि भएका व्यक्ति अख्तियार जस्तो संवेदनशील निकायमा उपयुक्त हुन्? जाँच आयोगमै निष्पक्षता विवादित भएको व्यक्तिले भ्रष्टाचार अनुसन्धान कसरी निष्पक्ष गर्छ? अब पनि फेरि राजनीतिक पहुँचका आधारमा संवैधानिक नियुक्ति हुने हो? भन्ने जस्ता प्रश्नहरु उठ्न थालेका छन्।
शर्माले आफुलाई अख्तियारको आयुक्त बनाउन रास्वपासँग अनुचित गतिविधि गरेको चर्चासँगै अख्तियारको आयुक्त नियुक्तिमा जनचासो बढेको छ। कुशासन, अपारदर्शीता, नातावाद-कृपावादविरुद्ध जेनजी आन्दोलन पश्चात् जनताको करिब दुई-तिहाई अपार समर्थन पाएको सरकारले स्वार्थपुर्ण नियुक्तिहरु रोक्दै असल छवि भएका योग्य व्यक्तिलाई संवैधानिक निकायहरुमा नियुक्ति गर्नुपर्ने माग बढिरहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो संवेदनशील निकायमा नियुक्ति केवल कानुनी प्रक्रिया मात्र नभई नैतिक विश्वसनीयता र सार्वजनिक विश्वाससँग जोडिएको विषय भएको जानकारहरु बताउँछन्।
विज्ञान राज शर्मामाथि लागेका आरोपहरू प्रमाणित भइसकेका छैनन्, तर ती गम्भीर प्रकृतिका भएकाले नियुक्ति अघि स्वतन्त्र र पारदर्शी मूल्यांकन आवश्यक देखिन्छ।
अख्तियार आयुक्त बन्न चलखेल गरेको आरोप लागेका शर्मा सँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन्।
प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार













प्रतिक्रिया