काठमाडौं । दीपक कुमार साह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको रूपमा पदभार ग्रहण गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।

पदभार ग्रहणसँगै मन्त्री साहले सिपयुक्त जनशक्ति उत्पादनमा केन्द्रित महत्त्वपूर्ण निर्णय गरेका छन्। उनले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान मार्फत ५ वर्षे रणनीतिक योजना निर्माण गर्ने प्रस्तावमा हस्ताक्षर गरेका हुन्।

advertisement

प्रतिष्ठानले तयार पारेको ‘रणनीतिक योजना २०२६–३१’ को मस्यौदामा हस्ताक्षर गर्दै उनले उक्त योजना एक महिनाभित्र अन्तिम रूप दिने निर्णय गरेका छन्। सो अवधिमा आवश्यक संशोधन तथा परिमार्जन गरेर कार्यान्वयनमा लैजाने मन्त्रालयको तयारी रहेको छ।

मन्त्री साहले आफ्नो प्राथमिकता स्पष्ट पार्दै सिप विकासलाई रोजगारीको मुख्य आधारका रूपमा अघि बढाउने बताएका छन्। विशेषगरी विदेश जाने नेपाली श्रमिकहरूलाई दक्ष बनाएर पठाउने वा स्वदेशमै रोजगारी सिर्जना गर्ने उनको लक्ष्य रहेको छ।

उनले भने, “रोजगारीको सबैभन्दा ठूलो आधार सिप हो। अदक्ष जनशक्ति ठूलो संख्यामा विदेश जान बाध्य भएका छन्, अब उनीहरूलाई सिपयुक्त बनाएर पठाउनु वा देशमै अवसर सिर्जना गर्नु आवश्यक छ।”

महोत्तरी जिल्ला–२ बाट निर्वाचित मन्त्री साहले आफ्नो निर्वाचन क्षेत्रका अनुभवलाई नीति निर्माणमा समेट्ने बताएका छन्। त्यहाँ देखिएको बेरोजगारी र सिपको अभाव समाधान गर्ने दिशामा यो निर्णय सुरुवात भएको उनको भनाइ छ।

मन्त्रालयका अनुसार आगामी पाँच वर्षमा कुन क्षेत्रमा कस्तो जनशक्ति आवश्यक छ भन्ने पहिचान गरी सोहीअनुसार तालिम कार्यक्रम सञ्चालन गरिनेछ। साथै, विदेशबाट फर्किएका श्रमिकहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने रणनीति पनि तयार पारिनेछ।

दक्ष जनशक्ति उत्पादन गरेर औद्योगिक तथा सेवा क्षेत्रमा उपयोग गर्ने लक्ष्यसहित मन्त्रालयले दीर्घकालीन योजना अघि बढाएको जनाएको छ। यसले स्वदेशमै रोजगारी वृद्धि र वैदेशिक रोजगारीमा जानेहरूको गुणस्तर सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १३ चैत्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com