काठमाडौं । नैनसिंह महर ले दोषीलाई लुकाएर एक पक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना नहुने बताएका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै महरले प्रतिशोधको राजनीतिले देशलाई झन् अस्थिर बनाउने चेतावनी दिएका छन्। उनले लेखेका छन्, “दोषीलाई लुकाएर एक पक्षलाई मात्रै लक्षित गरी गरिने कारबाहीले सुशासन स्थापना गर्दैन। जनताले केवल प्रतिशोध होइन, विकाससँगै सुशासनको अनुभूति खोजेका छन्।”
उनका अनुसार राज्यले कानुनी प्रक्रिया र विधि विपरीत कदम चाल्दा त्यसले न्याय प्रणालीमाथि नै प्रश्न उठाउनेछ। “राज्यले कानुन मिचेर अगाडि बढ्दा प्रतिशोधले देश जलाउने मात्रै हो,” भन्दै उनले सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन्।
महरले अपराधको प्रकृति र गम्भीरताका आधारमा प्रचलित कानुनअनुसार निष्पक्ष र समान रूपमा सजाय सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्। उनले कुनै पनि घटनामा राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही हुनु नहुने स्पष्ट पारे।
भाद्र २३ र २४ गते भएका घटनाहरूलाई उल्लेख गर्दै उनले ती घटनामा योजनाबद्ध रूपमा घुसपैठ गरी ध्वंस मच्चाउने तत्त्वहरूको पहिचान आवश्यक रहेको बताएका छन्। ती सबै पक्षमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्नुपर्ने उनको माग छ।
उनले अन्त्यमा सुशासन स्थापना गर्नका लागि पारदर्शिता, निष्पक्षता र विधिको शासन अनिवार्य रहेको उल्लेख गर्दै राज्यका निकायहरूलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेका छन्।
प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार











प्रतिक्रिया