काठमाडौं । नेकपा एमाले को सचिवालय बैठकले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली को तत्काल रिहाइको माग गर्दै देशव्यापी आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेको छ।
बैठकले ओलीको गिरफ्तारीप्रति आपत्ति जनाउँदै कानुनी र राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ। एमालेले आम जनसमुदाय र नागरिक समाजसँग सहकार्य गर्दै आन्दोलनलाई सशक्त बनाउने जनाएको छ।
बैठककाे निर्णयअनुसार आजै देशभरका प्रत्येक जिल्लाको सदरमुकाममा अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिनेछ। उक्त प्रदर्शनमार्फत ओलीको रिहाइको माग उठाइने पार्टीले जनाएको छ।
त्यसैगरी भोलि चैत्र १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गरिनेछ। प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।
एमालेले लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने पनि निर्णय गरेको छ। साथै, नागरिक समाज र आम जनसमुदायसँग मिलेर आन्दोलनलाई थप व्यापक बनाउने रणनीति अपनाइने बताइएको छ।
पार्टीले यो कदमलाई लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारको रक्षाका लागि आवश्यक भएको उल्लेख गर्दै आफ्ना समर्थकलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।
बैठकले यी कार्यक्रमहरू तय गरेकाे छ :
- आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।
- प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।
- प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (CDO) कार्यालयमा विरोधपत्र बुझाउने।
- लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।
प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार












प्रतिक्रिया