काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक माथि कानुनअनुसार कारबाही हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भदौ २३ गतेका घटनामा जिम्मेवार ठहरिएका व्यक्तिमाथि कारबाही हुनु आवश्यक रहेको उल्लेख गरेका छन्। तर उनले त्यसैमा सीमित नरही भदौ २४ गते भएका हिंसात्मक घटनाका योजनाकार र नेतृत्वकर्तामाथि पनि समान रूपमा कारबाही हुनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार सिंहदरबार, सर्वोच्च अदालत र संघीय संसद भवन जस्ता महत्वपूर्ण सरकारी संरचनामा आगजनी तथा तोडफोड गर्ने समूहलाई उन्मुक्ति दिनु न्यायसंगत नहुने बताएका छन्।
एक पक्षलाई मात्र कारबाही गरेर अर्को पक्षलाई छुट दिने प्रवृत्तिले न्याय र सुशासन दुवै कमजोर बनाउँछ, हर्क साम्पाङ ले भने ।
उनले घटनाको निष्पक्ष छानबिन गरी संलग्न सबैलाई कानुनको दायरामा ल्याउन राज्यसँग माग गरेका छन्। साथै, यस्तो गम्भीर प्रकृतिका घटनामा कुनै पनि पक्षलाई संरक्षण नगर्न चेतावनी दिएका छन्।
अध्यक्षले कानुनी राज्य र समान न्याय सुनिश्चित गर्न सरकार गम्भीर बन्नुपर्ने उल्लेख गर्दै दोषी जोसुकै भए पनि कारबाही हुनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार













प्रतिक्रिया