काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई हिन्दु राज्य फर्काउने अभियानमा लाग्न आग्रह गरेका छन् ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रसाईंले बालेनलाई बधाई दिँदै भने, “बालेन पनि विद्रोही पृष्ठभूमिबाट शक्तिमा आएका छन् । उहाँले विगतका नेताहरू प्रचण्ड र ओली जस्तै गल्ती नगरी देश बचाउनेतर्फ लाग्नुपर्छ ।”

advertisement

उनले देशको समृद्धिका लागि वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनःस्थापना नै एक मात्र विकल्प रहेको जिकिर गरे । “राजसंस्था र हिन्दु राष्ट्र हटाएकै कारण मुलुकले आज सजाय भोगिरहेको छ,” प्रसाईंले भने, “बालेन शाहले हिन्दु राज्य फर्काउने अभियानमा लाग्नुपर्छ र भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । राजा ल्याएर मात्रै देश बचाउन सम्भव छ ।”

प्रसाईंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा नभएको बताए । उनले मुख्य चुनौती देशको अस्तित्व रहने कि नरहने भन्ने भएको जिकिर गर्दै पुराना राजनीतिक दलहरूको अहंकारलाई रावणको अहंकारसँग तुलना गरे । “उनीहरूको घमण्डले गर्दा लङ्का जलेको थियो, यही अहंकारले देशलाई संकटमा पुर्‍याएको छ,” उनले भने ।

उनले डिस्कर्ड जस्ता माध्यम प्रयोग गरेर मान्छे उतार्ने र विद्यालयका पोसाकमा बालबालिका प्रयोग गर्नेहरूलाई तत्काल कारबाही गर्नुपर्ने माग पनि गरे ।

प्रसाईंले अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूलाई चेतावनी दिँदै नेपालमा दलाई लामाको गतिविधि वा उपस्थिति कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे । “चीन, अमेरिका र भारत जस्ता देशहरूलाई लक्षित गर्दै भन्छु — यदि नेपालमा दलाई लामा जन्माउने खेल भएमा काठमाडौंले ठूलो मूल्य चुकाउनुपर्नेछ,” उनले भने ।

दुर्गा प्रसाईंले बालेन शाहको सरकारलाई सुशासन कायम गर्दै राष्ट्रियता, धर्म र संस्कृतिको रक्षा गर्न आग्रह गरेका छन् ।

 

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com