काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।
उनीहरूलाई हिजो बिहान प्रहरीले पक्राउ गरेको भए पनि शनिबार परेकाले अदालत पेश गरिएको थिएन। आज भने कार्यालय समयमै अदालतमा उपस्थित गराउने तयारी गरिएको छ।
जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरेको हो।
गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले भदौ २३ र २४ गतेका घटनामा दोषी किटान गर्दै १० वर्षसम्म कैद सजाय सिफारिस गरेको छ। आयोगका अनुसार उक्त घटनामा विद्यार्थीको ज्यान जानुमा तत्कालीन प्रधानमन्त्रीका रूपमा ओली र गृहमन्त्रीका रूपमा रहेका लेखकको लापरबाही देखिएको ठहर गरिएको छ।
पक्राउपछि ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ भने लेखकलाई प्रहरीको महाराजगञ्जस्थित दुई नम्बर गणमा राखिएको छ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार













प्रतिक्रिया