काठमाडौं। नेपाल बार एसोसिएसनका अध्यक्ष प्राध्यापक डा. विजय प्रसाद मिश्रले शान्तिपूर्वक घरमा बसेर कानुनी प्रक्रियामा सहयोग गर्न तयार रहेका व्यक्तिलाई राज्यले पक्राउ गरेर कारबाही गर्न उचित नहुने बताएका छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ सम्बन्धमा कानुनविद्हरूसँग भएको छलफल कार्यक्रममा बोल्दै उनले राज्यले कारबाही गर्दा स्थापित कानुनी प्रक्रिया र संयम अपनाउनुपर्नेमा जोड दिए ।

advertisement

डा. मिश्रले भने, “शान्त रूपमा घरमा रहेको र कानुनी प्रक्रियालाई सहयोग गर्न तयार व्यक्तिलाई पक्राउ गर्नु उपयुक्त हुँदैन ।

कारबाही अपवादका रूपमा मात्र हुनुपर्छ । राज्यले आफ्नो संयन्त्रमार्फत विवेकपूर्ण ढंगले काम गर्नुपर्छ ।

विदाको दिन वा बिहान सबेरै पक्राउ गर्ने जस्ता कार्यले राम्रो सन्देश दिँदैन ।”

उनले पक्राउ प्रक्रिया पूर्ण रूपमा कानुनी बाटोबाट अघि बढाउनुपर्ने बताए ।

“उजुरी परेपछि अनुसन्धान, प्रमाण संकलन र त्यसपछि मात्र अदालतबाट पक्राउ पुर्जी लिनुपर्छ ।

अदालतले दुवै पक्षको कुरा सुनेर निर्णय गर्छ । त्यसपछि मात्र अगाडि बढ्नुपर्छ,” उनले थपे ।

डा. मिश्रले कार्की आयोगले जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदन तयार पार्दा प्रमाण संकलनमा कमजोरी देखिएको पनि टिप्पणी गरे ।

यसैगरी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाउँदै त्यसले ‘सेलेक्टिभ जस्टिस’ (चुनावी न्याय) को बाटो खोलेको आरोप लगाए ।

उनले भदौ २३ र २४ गतेका घटनाको समान रूपमा छानबिन हुनुपर्नेमा जोड दिँदै प्रतिवेदनले २३ गतेका घटनालाई मात्र प्राथमिकता दिएको बताए ।

त्रिपाठीले भने, “२४ गतेका घटनालाई कपटपूर्ण र बदनियतपूर्ण तरिकाले पन्छाइएको देखिन्छ ।

त्यही घटनाक्रमबाट अन्तरिम सरकार गठन भएको थियो, तर प्रतिवेदनले त्यसलाई पर्याप्त समेटेको छैन ।”

कार्की आयोगले जेनजी आन्दोलनका क्रममा लापरबाही र हेलचेक्र्याइँका कारण जनधनको क्षति भएको निष्कर्ष निकाल्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई जिम्मेवार ठहर गरेको थियो ।

सोही प्रतिवेदनका आधारमा सरकारले उनीहरूलाई पक्राउ गरी कारबाही गर्न अनुसन्धान अघि बढाएको जनाएको छ ।

 

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com