काठमाडौं। चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा प्रहरीले ठूलो परिमाणको नियन्त्रित लागू औषध ट्रामडोलसहित पाँच जनालाई पक्राउ गरेको छ ।
आइतबार बिहान वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बसमा सवार उनीहरूको साथबाट ३६ हजार ५०० ट्याब्लेट ट्रामडोल बरामद भएको हो । पक्राउ पर्नेमा पर्साको पकहाँ मैनपुर गाउँपालिका–५ का २२ वर्षीय सतेन्द्र प्रसाद चौरसिया लगायत पाँच जना रहेका छन् ।
प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो शाखा नागढुङ्गाबाट खटिएको टोलीले बा.प्र.०३–००६ ख १८०५ नम्बरको बस जाँच गर्दा उक्त ठूलो परिमाणको लागू औषध फेला पारेको थियो ।
यसैगरी, सोही दिन बिहान पर्साको वीरगन्ज महानगरपालिका–१६ शङ्कराचार्य गेट नजिकैबाट करिब ७ किलो ५०० ग्राम गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरू भारतको बेतिया घर भएका ३९ वर्षीय जावेद अंसारी, २८ वर्षीय गरीब महम्द र २४ वर्षीय महम्द रजिस रहेका छन् । इलाका प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले उनीहरूलाई गाँजासहित समातेको हो ।
दुवै घटनामा प्रहरीले थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको छ ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया