काठमाडौं। विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भएपछि दुई खेमामा विभाजित नेपाली कांग्रेस फेरि गम्भीर संकटमा परेको छ । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष खुला रूपमा देखिएको हो ।
लेखक पक्राउ प्रकरणमा पार्टीका दुवै समूहले अलग–अलग विज्ञप्ति जारी गरेका छन् ।
गगन थापा नेतृत्वको संस्थापन पक्षले सरकारको कदमलाई ‘सेलेक्टिभ’ भएको भन्दै कानुनी लडाइँ लड्ने बताएको छ भने शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले लेखकको पक्राउको विरोधमा सशक्त राजनीतिक प्रतिवाद गर्ने र आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई अपिल गरेका छन् ।
खड्काले जारी गरेको विज्ञप्तिमा सरकारले जनभावनामाथि कुठाराघात गरेको आरोप लगाइएको छ ।
उनले संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय भएको उल्लेख गर्दै भविष्यमा आइपर्ने जुनसुकै परिस्थितिको सामना गर्न पार्टी पंक्तिलाई तयार रहन निर्देशन दिएका छन् ।
यता संस्थापन पक्षका प्रवक्ता देवराज चालिसेले भने सरकारको व्यवहार चयनमुखी भएको टिप्पणी गर्दै आन्दोलनमा नजाने स्पष्ट पारेका छन् ।
चालिसेले निर्णय प्रक्रियामा थप सचेत र जिम्मेवार बन्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
पार्टीभित्रको यो विवाद विशेष महाधिवेशनको वैधानिकताबाट सुरु भएको हो ।
देउवा पक्षले विशेष महाधिवेशन र गगन थापाको नेतृत्वलाई अस्वीकार गर्दै निर्वाचन आयोग र सर्वोच्च अदालतमा प्रश्न उठाएको छ ।
देउवा समूहले नियमित महाधिवेशनबाट नै नेतृत्व हस्तान्तरण हुनुपर्ने अडान राख्दै आएको छ ।
रमेश लेखक पक्राउपछि देउवा पक्षले ठमेलमा छुट्टै छलफल गरेको थियो भने थापा पक्षले सानेपामा बैठक बसेको थियो ।
खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गरेपछि संस्थापन पक्षले यसलाई अनुशासन उल्लंघन मानेको छ ।
पछिल्लो घटनाक्रमले नेपाली कांग्रेस फेरि एक छैन भन्ने सन्देश जनतामा गएको छ ।
देउवा–कोइराला समूहले सर्वोच्च अदालतले आधिकारिकताको टुंगो नलाग्दासम्म समानान्तर गतिविधि जारी राख्ने बताएका छन् ।
नेपाली कांग्रेसको यो आन्तरिक कलहले पार्टीको एकता र आगामी राजनीतिक भूमिकालाई समेत प्रभावित पार्ने देखिएको छ ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया