काठमाडौं । शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसभित्र आफ्ना गतिविधि तीव्र बनाउँदै विभिन्न तहका बैठक तथा भेलाहरू आयोजना गर्ने तयारी गरेको छ। देउवा विदेशमै रहेका बेला उनका निकट नेताहरूले पार्टीभित्रको रणनीति तय गर्न सक्रियता बढाएका हुन्।
शेरबहादुर देउवा पक्षले राष्ट्रिय सभा र प्रतिनिधि सभामा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिने कार्यक्रम आयोजना गर्ने, २०७८ सालको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तथा जिल्ला सभापतिहरूको भेला गर्ने योजना अघि सारेको छ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा देउवा पक्ष सहभागी भएको थिएन। गगन थापा नेतृत्वमा सम्पन्न उक्त महाधिवेशनबाट नयाँ कार्यसमिति गठन भएको थियो। निर्वाचन आयोगले त्यसलाई मान्यता दिएपछि देउवा पक्षले असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ, जुन हाल विचाराधीन अवस्थामा रहेको छ।
देउवा हाल उपचारका लागि हङकङमा छन्। उनले यसअघि नै पूर्णबहादुर खड्का लाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। खड्काले पछिल्लो समय विभिन्न बैठक तथा छलफलहरू सञ्चालन गर्दै आएका छन्।
देउवा पक्षले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको समीक्षा, समसामयिक राजनीतिक घटनाक्रम, बालेन शाह नेतृत्वको सरकारद्वारा नेताहरू पक्राउ गरिएको विषय, तथा आगामी रणनीतिका विषयमा छलफल केन्द्रित गर्ने जनाएको छ।
कांग्रेसबाट प्रतिनिधि सभामा ३८ जना सांसद निर्वाचित भएका छन् भने गत माघमा राष्ट्रिय सभामा ९ जना सदस्य विजयी भएका थिए। नवनिर्वाचित सांसदहरूलाई बधाई दिने कार्यक्रम आजका लागि तय गरिएको छ।
त्यसैगरी, १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक मंगलबार र बुधबारका लागि तय गरिएको छ भने चैत १९ गते जिल्ला सभापतिहरूको भेला आयोजना गर्ने तयारी गरिएको छ।
यता, कार्यवाहक सभापतिको हैसियतमा खड्काले विज्ञप्ति जारी गरेको विषयमा संस्थापन पक्ष असन्तुष्ट देखिएको छ। थप विज्ञप्ति जारी गरे क्रियाशील सदस्यता नवीकरण नगर्ने चेतावनीसमेत दिइएको छ।
शनिबार केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेपछि खड्काले विज्ञप्ति जारी गरेका थिए। यद्यपि, कांग्रेस नेता दीपक खड्का पक्राउ परे पनि त्यसबारे भने कुनै औपचारिक प्रतिक्रिया जनाइएको थिएन।
देउवा पक्षका नेताहरूका अनुसार खड्काले शेखर कोइराला लगायत नेताहरूसँग परामर्श गरेर निर्णयहरू लिने गरेका छन्। यद्यपि, यसबारे नेताहरू सार्वजनिक रूपमा बोल्न भने तयार छैनन्।
यसैबीच, संस्थापन पक्षले चैत १८ गते अनुशासन समितिको आकस्मिक बैठक बोलाएको छ।
निवर्तमान केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले भने सञ्चारमाध्यममा आएका खबरहरूबारे आफूलाई औपचारिक जानकारी नभएको बताएका छन्।
कांग्रेसभित्र यतिबेला संस्थापन र संस्थापनइतर पक्षबीच समानान्तर गतिविधि बढ्दै गएको देखिन्छ। फागुन २१ को निर्वाचनमा समानुपातिकतर्फ देउवा र प्रत्यक्षतर्फ गगन थापाको हस्ताक्षरमा उम्मेदवार उठाइएका थिए।
संस्थापनइतर पक्षका नेताहरूले भने १४औं महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका संरचनालाई मिलाएर १५औं महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने धारणा राख्दै आएका छन्।
कांग्रेसले आगामी असोजमा १५औं महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको भए पनि सर्वोच्च अदालतमा रहेको मुद्दा टुंगो नलागेसम्म नियमित महाधिवेशनमा जान नसकिने संस्थापनइतर पक्षको अडान छ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया