काठमाडौं। सरकारले लोकतान्त्रिक आन्दोलनपछि बनेका सरकारको नेतृत्व गरेका र हाल जीवित अवस्थामा रहेका सबै ६ जना पूर्वप्रधानमन्त्रीसहित २३ जना उच्च पदस्थ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने गृहकार्य सुरु गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ठाडो निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र झलनाथ खनालविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान गर्ने प्रक्रिया अघि बढाएको हो ।

advertisement

यसैगरी, मधेसवादी नेताहरू तथा पूर्वमन्त्रीहरू उपेन्द्र यादव, शरदसिंह भण्डारीलगायतका नेताहरूको सम्पत्ति छानबिन प्रक्रिया पनि तीव्र पारिएको छ ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने, “प्रधानमन्त्रीको स्पष्ट आदेशअनुसार नै पूर्व ६ जना प्रधानमन्त्रीसहित २३ जना उच्च पदस्थ व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गर्ने तयारी भइरहेको छ ।”

उनका अनुसार अब सीआईबी मार्फत सबै पूर्वप्रधानमन्त्री तथा उनीहरूका आफन्तहरूको सम्पत्ति छानबिन गर्ने उद्देश्यले छिटोभन्दा छिटो पक्राउ पुर्जी जारी गरिने छ ।

प्रारम्भिक चरणमा नै करिब २३ जना प्रभावशाली नेता तथा व्यक्तिविरुद्ध अदालतबाट पक्राउ अनुमति माग्ने तयारी भइरहेको छ ।

प्रहरी स्रोतका अनुसार प्रधानमन्त्री बालेनले प्रहरी महानिरीक्षक तथा अन्य उच्च अधिकारीहरूलाई बारम्बार कडा निर्देशन दिँदै आएका छन् ।

उनले सबै पूर्वप्रधानमन्त्रीहरूको सम्पत्ति छानबिन प्रक्रिया छिटो अघि बढाउन निरन्तर दबाब दिइरहेका छन् ।

प्रधानमन्त्रीको उक्त निर्देशनपछि प्रहरी प्रधान कार्यालयले सीआईबीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धानलाई तीव्र बनाउन निर्देशन दिएको छ ।

सोहीअनुसार सीआईबीले अदालतबाट पक्राउ पुर्जी लिनका लागि कागजी प्रक्रिया अघि बढाइसकेको जनाएको छ ।

यो प्रक्रियाको प्रारम्भमा नै कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई आइतबार बिहान पक्राउ गरी अनुसन्धान थालिसकिएको छ ।

अब पूर्वप्रधानमन्त्री देउवा, ओली, प्रचण्ड, भट्टराई, खनाल र नेपाल तथा पूर्वमन्त्रीहरू यादव र भण्डारीलगायत पनि छिट्टै पक्राउ पर्ने सम्भावना देखिएको छ ।

प्रहरीका ती उच्च अधिकारीले स्पष्ट रूपमा भनेका छन् कि सबै पूर्वप्रधानमन्त्रीमाथि छिट्टै पक्राउ पुर्जी जारी हुनेछ ।

प्रधानमन्त्री बालेनको लगातारको दबाबका कारण प्रहरीभित्र केही असजिलो अवस्था देखिन थाले पनि प्रधानमन्त्रीको आदेश पालना गर्नुपर्ने भएकाले सीआईबी मार्फत एकसाथ ठूलो स्तरको छानबिन अघि बढाइएको छ ।

यो घटनाक्रमले नेपालको राजनीतिक वृत्तमा ठूलो हलचल पैदा गर्ने देखिएको छ ।

पूर्वप्रधानमन्त्रीहरू अनुसन्धानको दायरामा तानिएपछि देशव्यापी राजनीतिक प्रभाव पर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com