तेहरान। इरानले विश्वको सबैभन्दा महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ हर्मुजमा नयाँ नियन्त्रण प्रणाली लागू गर्ने तयारी गरेको छ ।
इरानी संसद (मजलिस) का सदस्य अलाएद्दिन बोरुजेर्दीले यो प्रस्ताव चाँडै अनुमोदन हुने बताएका छन् । नयाँ नियन्त्रण प्रणाली अनुसार इरानको पूर्व अनुमति बिना कुनै पनि जहाजलाई हर्मुज स्ट्रेट पार गर्न दिइने छैन ।
बोरुजेर्दीले भनेका छन्, “जहाजहरूको सुरक्षा सुनिश्चित गर्न र सेवा उपलब्ध गराउन लागत लाग्छ । त्यसैले ट्रान्जिट टोल (शुल्क) उठाउने व्यवस्था गर्नुपर्छ ।”
यो प्रस्ताव लागू भएमा हर्मुज स्ट्रेट भएर जाने अन्तर्राष्ट्रिय जहाजहरूबाट इरानले शुल्क असुल्ने स्पष्ट संकेत देखिएको छ । स्ट्रेट अफ हर्मुज विश्वको तेल निर्यातको करिब २० प्रतिशत हिस्सा ओगट्ने रणनीतिक जलमार्ग हो ।
यसैबीच, बोरुजेर्दीले आणविक नीतिमाथि पनि कडा अभिव्यक्ति दिएका छन् । इजरायल र अमेरिकाले इरानका आणविक संरचनाहरूमा आक्रमण गरेपछि आणविक हतियार अप्रसार सन्धीको सान्दर्भिकता समाप्त भएको उनको तर्क छ ।
उनले भने, “अब इरानले आणविक हतियार अप्रसार सन्धिबाट बाहिरिने समय आएको छ ।”
इरानको यो कदमले मध्य पूर्वमा जारी तनावलाई थप बढाउने र विश्वव्यापी तेल आपूर्तिमा ठूलो प्रभाव पार्ने देखिन्छ ।
प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार













प्रतिक्रिया