काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
रिजाल जेनजी आन्दोलनको समयमा काठमाडौंका सीडीओको जिम्मेवारीमा थिए। गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा अत्यधिक बल प्रयोग गर्दै दमन गरेको आरोप उनीमाथि लगाइएको छ।
आन्दोलनपछि विवादमा तानिएका रिजाल एक महिनासमेत नपुग्दै सीडीओ पदबाट बाहिरिएका थिए। उनी तत्कालीन गृहमन्त्री रमेश लेखकसँग निकट रहेको चर्चा समेत हुँदै आएको थियो।
यस प्रकरणमा गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालसहित अन्य उच्च तहका व्यक्तिमाथि कारबाही सिफारिस गरेको थियो। आयोगको सोही सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई यसअघि नै पक्राउ गरिसकिएको छ।
प्रहरीले रिजालमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार













प्रतिक्रिया