काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलबीच सोमबार भेटवार्ता भएको छ। गभर्नर पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर शिष्टाचार भेट गरेका हुन्।
गभर्नरका स्वकीय सचिव शरणकुमार अधिकारीका अनुसार यो दुवैबीचको पहिलो औपचारिक भेट भए पनि छलफलका विस्तृत विषय सार्वजनिक गरिएको छैन।
राष्ट्र बैंक स्रोतका अनुसार भेटमा प्रधानमन्त्री शाहले पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएका समस्या, रेमिट्यान्स आप्रवाहको अवस्था तथा बाह्य क्षेत्रको समग्र अवस्थाबारे चासो व्यक्त गरेका थिए। साथै, राष्ट्र बैंकले काम गर्ने क्रममा भोगिरहेका चुनौतीहरू र तिनको समाधानका लागि सरकारबाट अपेक्षित सहजीकरणबारे पनि छलफल भएको बताइएको छ।
त्यसैगरी, गभर्नर पौडेलले लामो समयदेखि रिक्त रहेको डेपुटी गभर्नर पदपूर्तिको विषय पनि उठाएका थिए। करिब एक महिनादेखि पद रिक्त रहँदा काममा असर परेको उल्लेख गर्दै उनले शीघ्र नियुक्तिको आवश्यकता औंल्याएका थिए। तर, प्रधानमन्त्री शाहले उक्त विषयमा खासै प्रतिक्रिया नदिएको स्रोतको भनाइ छ।
नेपाल राष्ट्र बैंकमा चैत २४ गतेदेखि दुई जना डेपुटी गभर्नर पद रिक्त छन्। प्रचलित व्यवस्थाअनुसार बैंकका १८ कार्यकारी निर्देशकमध्येबाट चार जनाको नाम गभर्नरले सिफारिस गर्ने र तीमध्ये दुई जनालाई नियुक्त गर्ने प्रावधान रहेको छ।
प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार











प्रतिक्रिया