काठमाडौँ । आसिफ शेख र ज्ञानेन्द्र मल्लको शतकीय साझेदारीमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै ३ एकदिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला २–१ ले जितेको छ । नेपालले १ सय ७७ रनको लक्ष्य ४०.१ ओभरमा पुरा गर्यो ।
नेपालले पहिलो पटक घरेलु द्विपक्षीय एकदिवसीय शृंखला जितेको हो । यसै वर्षको मार्चमा नेपालले घरेलु मैदानमा खेलेको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पपुवा न्य गिनीसँग २–० ले पराजित भएको थियो ।
अर्जुन साउद ९ रनमा आउट भएपछि आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटमा १ सय २२ रन जोडेका थिए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको दोस्रो ठूलो साझेदारी हो । मार्चमा पपुवा न्यु गिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले यसअघि तेस्रो विकेटमा १ सय २९ रन जोडेका थिए ।
ज्ञानेन्द्र ६३ रन बनाई आउट भए । एकदिवसीय अन्तर्राष्ट्रियमा यो उनको उच्च स्कोर पनि हो । गत वर्ष मस्कटमा ओमानविरुद्ध अविजित ५२ रन बनाएयता यो उनको पहिलो अर्धशतक हो ।
प्रकाशित मिति: २ मंसिर २०७९, शुक्रबार
प्रतिक्रिया